९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्रिय प्रधानमन्त्री ज्यू, शीघ्र स्वास्थ्य लाभको कामना !


13
Shares

-संजिव कार्की:

प्रधानमन्त्रीज्यू तपाई बिरामी भएको खबर तपार्इले आयोजना गर्नुभएको चियापानमा जब तपाई अनुपस्थित हुनुभयो तव मात्र जानकारीमा आयो । शनिबार कार्यक्रमको आयोजना गर्नु भएको भए पनि तपाई शुक्रबार देखिने बिरामी हुनुभएको रहेछ । तपाई बिरामी हुनुभएको सत्य छोपेर चियापानको अन्तिम अन्तिम बेलासम्म पनि भृकुटीमण्डपमा तपाई आउने झुट सम्प्रेषण गरिरहेका थिए नेताहरु । के तपाई रहरले बिरामी हुनु भएको हो र ? आफूले बोलाएको चियापान अनि आगन्तुक पाहुनालाई तपाई आफैंंले स्वागत गर्न के मन थिएन होला र ? तर पनि किन आफु बिरामी भएको सत्य ढाकेर झुट बोल्न लगाउनु भयो ? तपाई दीर्घ रोगी हुनुहुन्छ । बेला बेलामा तपाईलाई रोगले आक्रान्त पारेर सताउछ । दुख दिन्छ काम गर्न अवरोध सिर्जना गर्छ यो कुरा देश दुनियाँ, रैती नागरिक सबैलाई थाह छ । तर पनि बिरामी हुनुलाई किन लुकाउने कष्ट गर्नुहुन्छ ? डोकोले छोपेको लाज कतिदिन ढाकिन्छ ? सत्य कुरा भनेर आराम गरेर औषधी सेवन गरेर बस्न कसैले पक्कै पनि बाधा गर्ने छैनन् । बिरामी हुँदा गर्ने मानवीय संवेदना सबैले पालन गर्नेछन । किनकी दुर्घटना भएर जीवनमरणको संघारमा रहेर २०५१ सालमा स्वर्गीय मनमोहन अधिकारीले फेस गरे जस्तो अवस्था अहिले तपाईलाई छैन र शेर बहादुर देउवा स्वयं तपाईको भीमकाय आकार र शक्तिको अघि निरिह र नाजुक छन् ।

यदि त्रिशंकु संसद हुँदो हो त्यो अमानवीय शृंखला दोहोर्‍याउन देउवाको धर्मले लाज मान्दैनथ्यो किनकी सत्ताको अभावमा कांग्रेस पानी बिनाको माछो भएको सबैलाई थाह नै छ । ख्याल राख्नुस प्रधानमन्त्री ज्यू, तपाई दुई तिहाइ बहुमत नजिक हुनुहुन्छ तपाईलाई छेक्ने रोक्ने र खुट्टा तान्ने कसैको ह्याउ छैन । पाच बर्ष जनताले शासन गर्न लालमोहर लगाई दिएका छन् । पाँच वर्षे मंजुरीनामामा ल्याप्चे हानेका छन् । इन्द्रका बाउ चन्द्र प्रकट भए पनि बाहिरी शक्ति र तागतले तपाईको बाटो छेक्ने त के, बाटो ढुकेर पछाडीबाट ढुंगाले हान्ने तागत समेत गुमाएको प्रतिपक्ष छ । यति सहज, यति सरल, यति अनुकुल परिस्थिति हुँदा पनि बिरामी भए भन्न किन लुकाउनु पर्‍यो ?  तपाई बिरामी हुनु अपराध र पाप त होइन नि ? चियापान समारोहमा आफ्नै कार्यकर्तालाई समेत किन गुमराहमा राख्नु पर्‍यो । पक्कै यस भित्र अन्तर्निहित सत्य झुट जे भए पनि तपाईलाई नै थाह होला । तर देशको प्रधानमन्त्री बिरामी भएको खबर छिटो थाह नदिनु जनताको यथार्थ सूचना पाउने अधिकारको हनन् हो भन्ने मेरो बुझाई छ ।

देशको प्रधानमन्त्री बिरामी हुँदा थाह नदिनु सूचनाको हक कुण्ठीत भएको महशुस भएको छ । दुई तिहाई बहुमतले शासन गरेको राज्यमा प्रधानमन्त्री बिरामी छन् भन्न किन लजाउनु र धकाउनु पर्‍यो ? सत्य तथ्य सार्वजनिक गर्न किन हिच्किचाउनु भयो ? अझ अर्को दुःखद कुरा बिरामी भएर पनि किन अस्पताल जान र बस्न आनाकानी ? तपाई आफ्नै रहरले प्रधानमन्त्री निवासमा बस्नु भयो कि अरु कसैको कर बलमा ? तपाइँको राजनीतिक र चिकित्सक सल्लाहकार टिमले किन पूर्व सावधानी अपनाएर बिरामी हुने बित्तिकै अस्पताल लैजान चाहेनन ? संक्रमण अधिक भएपछि मात्र किन शुक्रबार देखिको बिरामी सोमबार बिहान मात्र अस्पताल लगियो ? अरु सामान्य मान्छेभन्दा फरक बिरामी र रोगले ग्रस्त तपाई किन स्वास्थ्य प्रति लापरबाही ? १२ वर्ष अघि दुवै मृगौला ट्रान्सप्लान्ट गरेको रोगी मान्छेप्रति जुन समवेदनाशीलता, गम्भीरता र तदारुकता देखाउनु पर्ने हो त्यो देख्दा भने तपाई जसको घेरफेरामा हुनुहुन्छ ती मान्छेहरु पक्कै संवेदनहिन र विषयको गम्भीरता बुझ्न नसक्ने मान्छेहरु हुन् । जसबाट प्रधानमन्त्री कार्यालयले जनताको काम हुन्छ भन्ने अपेक्षा नेपालकै जाति भन्दा अतियुक्ती नहोला । प्रधानमन्त्रीको स्वास्थ्यप्रति गम्भीर नदेखिएका मान्छेहरु अरु जनताको कामप्रति गम्भीर , संबेदनशिल र जबाफदेही बन्लान र ? जति कुरा हुन्छ त्यो कुराको थोरै प्रतिशत मात्र पनि काम हुँदो हो त धेरै हुन्थ्यो तर यति निकम्मा नालायकहरुको घेराबन्दीमा तपाई हुनुहुदो रहेछ जसले तपाईको स्वास्थ प्रति त उपेक्षा गरे भने अरु दैनिकको काम प्रति कुन रुचि देखाए होला र ?

प्रधानमन्त्री ज्यू, तपाईको शीघ्रातिशीघ्र स्वास्थ लाभको कामना संगै तपाईको किचेन क्याबिनेट देखि अन्यत्र मन्त्रालय जहाँ जहाँ कार्यकर्ता नेताको सल्लहाकार वा विषय विशेषज्ञ भनेर राजनीतिक नियुक्ति दिनु भएको छ तिनीहरुको पुनःमूल्याकंन गर्नुस । सच्चिने सच्याउनुस, फिर्ता पठाउने फिर्ता गर्नुस । अनि आँखा चिम्लेर योग्य र क्षमतावानहरुको समुह बनाउनुस । भटाभट भर्ती गर्नुस तपाईको धपेडी पनि कम हुन्छ स्वास्थ्य पनि बिग्रदैन । स्वास्थ्य समस्या आयो भने पनि शीघ्रअस्पतालको मुख देख्न पाउनु हुनेछ । देशले पनि नयाँ गति समात्नेछ । अन्यथा तपाई बोलेको बोल्यै गर्ने तपाइको टिम घाम तापेर बस्ने माखो नमार्ने हुन्छ ।

यतिखेर तपाईको असफलता भनेको मुलुकको असफलता हुनेछ । दुई तिहाईप्रतिको विश्वास र भरोसा चकनाचुर हुनेछ । जनताको विकास, शान्ति शसासन र समृद्धिको चाहनामा तुषारापात हुनेछ । राजनीति प्रति वितृष्णा र घृणा प्रकट हुनेछ । राजनेता बन्ने तपार्इको सुनौलो अवसर खेर जानेछ र देश भासमा जाकिनेछ । तपाईले भर्नु भएको आशा उमंग र भरोसाको खेतीमा खडेरी पर्नेछ । अनिकालले ग्रस्त दरिद्र मानशसकताको हालीमुहाली चल्नेछ । देश नरकमा फस्ने छ । हामी नरकको बासमा परेर निसासिंदै कुन जुनीको पाप र अधर्मबाट यस्तो दुर्गति भयो भनी देशलाई र आफूलाई सरापेर नराधम कस्ट खप्न विवस हुनेछौं ।

त्यसैले प्रधानमन्त्री ज्यू,

तपाई सफल बन्नुस अझै चार वर्ष भन्दा बढी समय बाँकी छ ।  सुधार हुने र गर्ने थुप्रै अवसर हातमा छ । सदुपयोग गर्नुस देश जोगाउनुस । दस बर्षसम्म हिंसात्मक द्वन्द्व भोगेर बालबाल बँचेको तन्ग्रिएको देश पुनः हत्या हिंसा र द्वन्द्वमा जानबाट रोक्नुस । निराशा बढ्दै जादा फेरि हतियार न उठला भन्न सकिन्न । हामीलाई एक आपसमा लडाएर मजा लिने र हतियारको विक्री गर्ने साहूहरु मौका पर्खेर बसेका छन् । हाम्रो देश अशान्त हुँदा कमाउनेहरू धेरै छन् । जसले बिभिन्न बहानाना द्वन्द्वको पसल थापेर द्वन्द्वको बिउ रोपेर हामीलाई लडाउन भगिरथ प्रयत्न गर्दैछन । तिनीहरुको सबै षडयन्त्र निस्तेज पार्न पनि तपाई ठिक हुनुपर्छ । चांडो निको हुनुपर्छ । यतिबेला तपाईको स्वास्थ्य बिग्रनु भनेको प्रत्येक नेपालीको स्वास्थ्यमा आघात पर्नु हो । आजै तपाई अस्पताल भर्ना हुँदा मात्र देशलाई कति घाटा भयो तपार्इले थाह पाउनु भयो होला । देशका सबै लब्धप्रतिष्ठित मान्छे अस्पतालमा तपार्इको स्वाथ्यलाभको कामना गर्न बिहान देखी बेलुकी आठ बजेसम्म लाम लागेका थिए ।

मन्त्रिमण्डलमा रहेका उपत्यकामा उपलब्ध सबै मन्त्रीहरु, सबै संसद, सबै नेता, बिपक्षी दलका नेता लगायत सबै राजनीतिक व्यक्तित्व काम छोडेर स्वास्थ्यलाभको लागि लाम लाग्दा देशको काम बर्बाद भएन होला र ? तपाई हिसाब गर्नुस त तपाई एक दिन अस्पताल बस्दा त्यो जनशक्ति निस्काम बन्यो कति कामहरु अवरुद्ध भए । त्यति धेरै मान्छे अनि त्यति ठूला पदासिन मान्छे नहुँदा कति सरकारी अर्धसरकारी कामहरु रोकिए होला, कति महत्वपूर्ण निर्णय र अवसरहरु छुटे एक दिन बसेर हिसाबकिताब र गरौ त, राष्ट्रको घाटा कति निस्कँदो रहेछ ? प्रधानमन्त्री बिरामी हुनु भनेको देश ठप्प हुनु हो । देश नै ठप्प पारेर बिरामी तपाई रहरले खुशी र उमंगले हुनुभएको होइन त्यसैले तपाइको पल पल समय र स्वाथ्यको महत्व छ । तपार्इको स्वास्थको खेलबाड तपाई स्वयमले समेत गर्ने छुट छैन भने अरु जनताको करमा मस्ती मार्नेहरुले आफ्नो कर्तव्यबाट च्युत भएर भाग्ने छुट कसरी हुन्थ्यो र ? एउटा सानो र थोरै दायित्व भएको कार्यालयको हाकिम र कर्मचारी अनुपस्थित हुँदा कति ह्याम्पर हुन्छ भने देशको नै हाकिम सबैभन्दा ठुलो कार्यकारी मान्छे बिरामी हुँदा कति ह्याम्पर हुन्छ त्यसको लेखाजोखा आ-आफ्नो ठाउ बाट गरौ त ।

प्रधानमन्त्री बिरामी हुन् सक्नुहुन्छ । बिरामी हुनु अस्पताल पुग्नु कसैको बसको विषय होइन । तर उहाँको अनुपस्थितिमा किन देश नै ठप्प बन्ने स्थिति बन्छ त्यसको पुनःसमीक्षा गरेर नयाँ र प्रभावकारी संरचना निर्माण गरी पद्धती बसाउन प्रधानमन्त्रीले अब विशेष चासो राखेर जमर्को गर्नुपर्छ । हामीकहाँ सिस्टम नभएर हो या किन हो कति महत्वपूर्ण सबाल र संबेदनशील विषयमा तपाईका ‘किचेन क्याबिनेट’का सदस्यहरु आज मनमोहन भास्कुलर ट्रान्स प्लान्ट सेन्टरमा बसेर गफिदै थिए जुन सुन्दा पनि सरम लाग्छ । एक जना संसद भन्दै थिए चाइना जान मन थियो मलाई किन छुटाएको तर अब युके जाने रहर छ त्यहाँ चैं म नछुटु नि । प्रधानमन्त्रीको सल्लाहकार टीममा साथी भएको के काम भयो र ? कति हल्का र कति खुद्रा रहर सौख पालेर संसद भएका छन् मान्छेहरु ?  एउटा संसद्को रहरमा घुम्न जाने ठाउँ हो प्रधानमन्त्रीको विदेश भ्रमण ? कसैको सिफारिसमा कसैको अनुनय बिनय अनि निगाहमा जाने ठाउँ हो प्रधानमन्त्रीको विदेश भ्रमण ?

निश्चित मापदण्ड र क्षेत्रको आधारमा पररास्ट्र मन्त्रालयको कार्यविधि र छनौटको आधारमा विदेश भ्रमण तय हुन्छ कि कुनै सल्ल्हाकारको साथी इस्ट र आफन्त हुनुको कारण ? यो त् सानो उदाहरण हो । भट्टीमा बसेर सरकारी काम र बन्दोबस्तीको कुरा हुन्छ प्रधानमन्त्री ज्यू अब भन्नोस् जनताले न्याय पाउँछन कि सेवा र सुबिधा ? यी यावत समस्याको पहिचान गरेर निराकरण गर्न र कर्मचारीतन्त्रमा आमुल परिवर्तन गरि समयानुकुल बनाउन पनि तपाई स्वस्थ भएर छिट्टै फर्कनु पर्छ । भारत लगायत देशमा राजदुत नियुक्त गर्नुपर्ने छ । तर हल्ला सुनिन्छ भारतको लागि राजदूत भेटिएन रे ? के यो सत्य हो कि भारत आफैंले फलानो राजदूत भनेर सिफारिस गर्नुपर्ने हो ?

प्रधानमन्त्री ज्यू,

तपाई बिरामी भएको बेला यस्तो लेखे माफ गर्नुहोला । म आज तपाई स्वास्थ लाभको कामना गर्न गएथें ।  हुनत मेरो स्वाथ्य लाभ म जस्ता लाखौको स्वास्थ्य लाभले के हुन्थ्यो जे हुन्छ औसधि र सुइले हुन्छ । तपाइँको भौतिकवादी दर्शनले त्यसै भन्छ तर पनि भावना हो आइहाल्छ । हामीले त् मनै देखि कामना गरेका छौं । पक्कै तपार्इलाई नेपाली जनताको कामना लाग्नेछ । तपाई स्वस्थ बन्नुहुनेछ र जनताको नेता ‘राजनेता’ बनेर जनमुखी कार्य गर्नुहुनेछ । प्रधानमन्त्री ज्यू पुनः स्वास्थ लाभको कामना गर्दै बिदा लिन्छु ।

-उही तपाईको सुभेच्छुक