
काठमाडौं, असार ११ । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोसाक नलगाउने करिब एक हजार ६६८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेकोे छ ।
केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समयपालना नगर्ने र पोसाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिए ।
उनकाअनुसार कारबाहीको सिफारिसमा परेकामध्ये समयपालना नगर्ने एक हजार ११९ जना र पोसाक नलगाउने ५४९ जना रहेका छन् ।
कारबाही सिफारिसमा परेकामध्ये सिंहदरबारभित्र रहेका मन्त्रालयका कर्मचारी सबैभन्दा बढी रहेका छन् ।
उपसचिवसमेत रहेका अर्यालकाअनुसार सिंहदरबारका ४३ ओटा कार्यालयमा गरिएको अनुगमनमा १८८ जना समयपालना नगर्ने र २८० जना पोसाक नलाउने परेका छन् ।
समयपालना नगर्ने र पोसाक नलगाउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गर्न निर्देशन दिइएको बताइएको छ ।
उनकाअनुसार स्पष्टीकरण सोध्ने, सचेत गराउने र नसिहत दिनेसम्मका कारबाही गर्न सिफारिस गरिएको हो । रासस
प्रतिक्रिया दिनुहोस्