९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


प्राविधिक शिक्षा खतरामा (भिडियो रिपोर्ट)


0
Shares

प्रज्ञा तिमल्सिना/नवीन स्थापित (इमेज)

काठमाडौं, असार ११ । विद्यालयस्तरीय एसइई परीक्षाअन्तर्गत्को प्राविधिकतर्फको नतिजा सन्तोषजनक देखिएन ।

९ देखि १२ कक्षासम्म पढाइने प्राविधिक शिक्षामा यो वर्ष नियमिततर्फ ८ हजार ९०६ जनाले परीक्षा दिएका थिए भने एक्जाम्टेडतर्फ १० जना सम्मिलित थिए ।

नेपालमा अहिले दुई प्रकारको शिक्षा पद्धति सन्चालित छ । साधारण शिक्षा र प्राविधिक शिक्षा ।

व्यावहारिक शिक्षा दिने उद्देश्यले वि.सं. २०७० सालदेखि सुरु भएको प्राविधिक शिक्षा पढाउने शिक्षक नै दक्ष नभएका कारण गुणस्तर खस्किएको सरोकारवाहरुले टिप्पणी गरेका छन् ।

प्राविधिक शिक्षाअन्तर्गत् एनिमल साइन्स, कृषि, इलेक्ट्रिकल, सिभिल तथा कम्प्युटर इन्जिनियरिङ विषयहरु पर्छन् ।

हाल ती विषयहरु २८३ सरकारी विद्यालयमा पढाइ भइरहेको छ । जसमा एक विद्यालयले एक प्राविधिक विषयमात्र पढाउन पाउने प्रावधान छ ।

पूर्वतयारीबिना नै प्राविधिक शिक्षा राखेको भन्दै शिक्षाविद् मनप्रसाद वाग्ले गुनासो गर्छन् । गणित, अंग्रेजी र विज्ञानमा राम्रो नम्बर नै नल्याएका विद्यार्थीलाई प्राविधिक शिक्षा पढाउँदा बजारले खोजेजस्तो दक्ष जनशक्ति तयार हुन नसक्ने उनको भनाइ छ ।

यो वर्ष प्राविधिक विषयमा ३.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ५३८ छ ।

३.२५ देखि ३.६० ल्याउने एक हजार ९६६ जना, २.८५ देखि ३.२० ल्याउने दुई हजार ५८० जना, २.०५ देखि २.४० ल्याउने ६२९ जना, १.६५ देखि २ जीपीए ल्याउने विद्यार्थी ११२ जना छन् । यस्तै, ०.८५ देखि १.२० सम्म ल्याउने विद्यार्थी ४७९ जना छन् ।

प्राविधिक शिक्षा केही समयका लागि स्थगित गरेर सन्चालन गराउन विज्ञहरु सुझाउँछन् ।

अबपनि व्यावहारिक शिक्षालाई अहिलेकै अवस्थाबाट नै सन्चालन गर्ने हो भने विद्यार्थीको भविष्य निकै खतरामा पर्ने शिक्षाविद् वाग्ले बताउँछन् ।

देशलाई आवश्यक दक्ष जनशक्ति पूर्तिका लागि सुरु गरिएको शिक्षामा राम्रो नतिजा नआउँदा ती विद्यार्थीको व्यवस्थापन कसरी गर्ने भन्नेमा पनि सरकारसँग कुनै ठोस विकल्प देखिएको छैन ।

भिडियो हेर्नुहोस्