
-हरिविनोद अधिकारी:
भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी नेपालको राजकीय भ्रमणमा बैशाख २८ मा आउनु भयो र २९ गते नै जानुभयो । पहिलो दिन जनकपुरमा सीतामाताको पूजा अर्चना गर्दै अभिनन्दित हुनुभयो, उच्चस्तरीय भेटघाट भयो । भोलिपल्ट मुस्ताङमा मुक्तिनाथको पूजा अर्चना गर्न मुक्तिनाथ पुग्नु भयो , सोही दिन पशुपतिनाथको पूजा अर्चना भयो र व्यापक भेटघाटसँगै केही शिलान्यास पनि गरिए । २९ गते नै हतार हतार भारत प्रस्थान हुनुभयो मोदीजी ।
हतार हतारको तर छोटो राजकीय यात्राको परिणाम भने कति व्यापक रह्यो भन्ने आँकलन भर्खर सुरु भएको छ र प्राप्त सूचनाका आधारमा यसले दिने परिणाम भनेको नेपालका पक्षमा सकारात्मक देखिएको छैन । यसले प्रदेश सरकार र संघीय सरकारका बिचमा व्यापक फाटो देखिएको छ नेपालको संविधानका वारेमा । जुन संविधानको शपथ ग्रहण गरेर मुख्यमन्त्री हुनु भएको छ मोहम्मद लालबाबु राउत, त्यही संविधानप्रति देखाइएको असन्तुष्टिप्रति प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, सत्तारुढ एमाले र माओबादी केन्द्र तथा प्रमुख विपक्षी नेपाली काँग्रेससमेतको विरोध देखिएको छ । यसले के देखाउँछ भने महामहिम मोदीको जस्केलो दैलोबाट नेपाल प्रवेशले नेपाली राजनीतिमा एउटा खैलाबैला ल्याएको छ ।
किन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री हुने बित्तिकै भारतको भ्रमण गर्नु परेको थियो ? अनि भारतका प्रधानमन्त्रीलाई भारतले गरेजस्तै किन तत्कालै राजकीय भ्रमणको निम्तो दिनु परेको थियो ? बुझ्न नसकिएको रहस्य बनेको छ । सतही उत्तर तत्काल पाइने छ प्रधानमन्त्रीजीका सल्लाहकार समूहबाट-भारतले ओलीजी प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि नै निमन्त्रणा गरेको र तत्काल राजकीय भ्रमणका लागि बोलाएकाले सद्भाव देखाउन पनि जानु जरुरी थियो अनि औपचारिकताका लागि पनि भारतीय प्रधानमन्त्रीलाई बोलाउनु जरुरी थियो र मात्र जाने आउने औपचारिकता पूरा भएको हो ।
नेपालले आफ्नै संविधान सभाबाट नयाँ संविधान पाउने बित्तिकै पाएको नाकाबन्दीको पुरस्कारको दण्डलाई बिर्सन बिर्साउन गरिएको भ्रमण आदान प्रदान हो भने त्यसै भनिनु पथ्र्यो । कुरा लुकाइएको छ । अहिलेसम्म जेजति औपचारिक भ्रमण भएका छन्, तिनको उपलब्धि जहिले पनि अत्यन्त उच्च मानिएको छ र सफल भ्रमण भनेर भनिने गरिएको छ । अरु त अरु, स्वयं ओलीजीले गरेको पहिलो राजकीय भ्रमणपश्चात् पनि भ्रमण सुखद मानिएको थियो र त्यस्को पनि प्रशंसा गरिएको थियो ।
किनभने नाकाबन्दी बन्द नहुन्जेलसम्म भारत भ्रमणमा नजाने ओलीको कथित अडानलाई तत्कालीन प्रमुख विपक्षी नेता सुशील कोइरालाले संसदबाट पहिलो संविधान संशोधन गराएर बाटो खोलिदिनु भएको थियो । अनि भारतलाई मैले झुकाएँ भन्दै ओलीजी भारत भ्रमणमा गएर एक्लाएक्लै वार्ता गरेर आउनु भएको थियो । त्यो बेलामा संयुक्त विज्ञप्ति त आएन तर भित्री कुरा मिलेको सुइँको पाइएको थियो भनेर कूटनीतिक क्षेत्रमा व्यापक चर्चा चलेकै थियो ।
अब त सरोकारवालालाई सोध्नै पर्ने हुन्छ, भारतीय प्रधानमन्त्रीको यो राजकीय भ्रमणले भारत र नेपालको सम्बन्धमा कुनचाहिँ नयाँ आयाम थप्यो त ? विरोधका लागि विरोध गर्नु जरुरी छैन । नेपाल र भारतको सम्बन्ध पक्कै पनि विशेषरुपमा यसकारणले पनि छ कि भाषा, सँस्कृति र रीतिरिबाजले हाम्रा समाजलाई एकाकार बनाएको छँदैछ । र पनि खुला सीमानाका कारणले देखिने विशेष सम्बन्ध र विवादका बिचमा हाम्रा सम्बन्धहरु बेलाबेलामा विवादास्पद पनि भएका छन् । जस्को प्रत्यक्ष उदाहरण निकट अतीतको नाकाबन्दी हो , नेपालका गाउँका गाउँ डुबान हो ,सीमामा देखिने चर्को विवाद हो र नेपालभित्रै पसेर भारतीय सीमाबलले बेलामौकामा गर्ने ज्यादती हो ।
खुला सीमाका कारणले भारतलाई पर्ने समस्या र नेपाललाई पर्ने समस्या समाधान किन हुँदैन र नेपालबाट भारतको सुरक्षामा कसरी आँच आउँछ भन्ने कुरा पनि दोहोरो मापदण्डभित्र पर्दोरहेछ । नेपालीहरु अहिले पनि भारतको सीमा सुरक्षा र आन्तरिक सुरक्षामा खटिएका छन् ज्यानको बाजी लगाएर । आखिर छिमेकीका लागि ज्यानको बाजी लगाउनु जरुरत त थिएन होला अर्को छिमेकीसँग लड्न । तर पनि नेपालीहरु भारतका लागि लडिरहेका छन् । अनि त्यही नेपाल र नेपालीमाथि गरिने व्यवहार भने कस्तो छ ? अहिले पनि त्यसबारेमा कुनै कुरा उठेको पाइएन । सीमाका वारेमा पनि कुनै कुरा उठेन । उर्जाका वारेमा भारत निर्भर हामी हुँदैछौँ भन्ने कुरा स्पष्ट भएको छ किनभने भारतले उर्जाको लागि सहयोग गरेकोले र विजुली दिएकाले हामी लोडसेडिङ मुक्त हुन खोजेका हौं । व्यापार घाटाका वारेमा खासै देखिने गरी कुनै सम्झौता वा सहमति भएको पाइएन ।
त्यसो भए किन हाम्रा प्रधानमन्त्री जानु भयो हतार हतार र किन आउनु भयो भारतीय प्रधानमन्त्री हतार हतार ? सायद यस्को रहस्य भविष्यमा पक्कै खुल्ला तर अहिले मात्र के भन्न सकिन्छ भने मोदी फर्कनु भयो नेपालमा संशयको पोको यतै छोडेर । नेपालमा प्रदेश सरकार, संघीय सरकार, सत्तापक्ष र प्रमुख प्रतिपक्षका बिचमा यसले तत्कालै साम्य नहुने विवादको जन्म गराएको छ । एमालेभित्र , माओबादीभित्र र वाम गठबन्धनभित्र समेत यसले पार्ने असर भनेको भुसको आगो जस्तो देखिएको छ ।
भारतीय प्रेसले सम्प्रेषित केही समाचारको विश्लेषण गर्ने हो भने भारतमा समेत भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको एजेन्डा स्पष्ट नभएको मानेर विरोध गरिएको पाइन्छ । यदि जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको मात्र पूजा अर्चना मात्र थियो भने त्यसै भन्नुपथ्र्यो । तर विवाद राजनीतिक तहमा देखिएको छ र अतिथिको सम्मान गर्दागर्दै पनि शङ्का उब्जिएको छ । पहिले आफू प्रमुख प्रतिपक्षी नेता हुँदा ओलीजीले माओबादी केन्द्र र काँग्रेसको संयुक्त सरकारलाई लम्पसारबादी भन्नुभएको शब्द अहिले फर्केर ओलीजीप्रति नै लक्षित भएको छ । मोदीजीले पनि प्रदेश नंबर २बाट स्वागतार्थी हुन खोजेको र संघीय सरकार साक्षी बसेकोले पनि विवादले नयाँ स्वरुप लिएको बुझ्न सकिन्छ भन्ने राजनीतिक विश्लेषकहरुको राय छ ।
प्रतिक्रिया दिनुहोस्