१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नेपाली साहित्यिक टोली बंगलादेशबाट फिर्ता


0
Shares

काठमाडौं, वैशाख २० । गत शुक्रबार बंगलादेशको राजधानी ढाका गएको नेपाली साहित्यकारहरुको टोली नेपाल फर्किएको छ । ढाकामा आयोजित साहित्यिक तथा सांस्कृतिक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर उक्त टोली स्वदेश फर्किएको हो ।

साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको हो । सोही कार्यक्रममा नेपाल स्रष्टा समाजका कोषाध्यक्ष, गीतकार पुष्पा खनालको म्युजिक भिडियो ‘यो आँखाको नानीलाई’ सार्वजनिक गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बंगलादेशका उपसभामुख मो. फैजल रब्बी मियाले नेपाल र बंगलादेशबीचको वर्षौँदेखिको अटुटसम्बन्धको जगलाई दुई देशको साहित्य र संस्कृतिले बलियो बनाएको उल्लेख गरे । उनले सङ्गीत भनेको विश्वव्यापी भाषा भएको पनि बताए ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसालले आफू राजदूत भएर बंगलादेश आउँदा कुनै अनौठो अनुभूति नभएको र यो आफ्नै दोस्रो घरजस्तो लागेको बताउँदै यो सबै दुई देशबीचको सामाजिक, सांस्कृतिक समानता कारण भएको बताए ।

बीसौँ वर्षअघिदेखि यहाँका मानिस र संस्कृतिसँग आफू जोडिएको भन्दै कवि मञ्जुलले बंगलादेशी साहित्यकार तथा त्यहाँका जनता अत्यन्तै सहयोगी, मित्रवत् भएको बताए ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, बंगलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष मो. इम्दादुल हक, साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, पुष्पा खनाललगायतले बोलेका थिए ।

चारदिने भ्रमणको क्रममा टोलीले ढाका विश्वविद्यालय, जहाँगिर विश्वविद्यालय, शहिद मिनार, बंगलादेशको संसद, राष्ट्रिय कवि काजी नजरुल इस्लामको समाधि, ढाकेश्वरी मन्दिर, केन्द्रीय शहिद स्मारकलगायतका महत्वपूर्ण स्थानहरुको अवलोकन भ्रमण गरेको थियो ।