
काठमाडौं, असार १२ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भएपनि कम गर्दै लैजाने बताएका छन् ।
विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले दूरसन्चार क्षेत्रको पूर्वाधार विकास गर्न जरुरी भएकाले मोबाइल इन्टरनेट केही महँगो भएपनि आगामी दिनमा त्यसलाई सस्तो बनाउँदै लैजाने बताएका हुन् ।
आपत्कालीन अवस्थामा सूचना तथा सन्चार क्षेत्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बाँस्कोटाले ‘जोखिमका समयमा सूचना व्यवस्थापनमा मन्त्रालय सदैव तयार रहन्छ’–भने ।
सूचना तथा सन्चार–प्रविधि अध्ययन गर्ने विद्यार्थीका लागि जागिर उपलब्ध गराउने विषयमा सरकार गम्भीर भएको पनि उनले जनकारी दिए ।
निजी क्षेत्रको दूरसन्चार सेवा प्रदायक एनसेललाई कर तिराउने सन्दर्भमा सन्चारमन्त्री बाँस्कोटाले भने–‘एनसेललाई नेपाल सरकारले कुनैपनि उन्मुक्ति दिएको छैन र दिँदैन, म यो विश्वास दिलाउन चाहन्छु ।’
नेपाल टेलिकमको विकास गर्न, यसको सेवा गुणस्तरीय बनाउन र देशका सबै भू–भागमा टेलिकमको सेवा विस्तार गर्न र पूर्वाधार बनाउन सरकार तत्पर रहेको उनले बताए ।
उनले आगामी आवमा ७३८ नयाँ टावर थप्न लागिएको जानकारी दिँदै त्यसपछि टेलिकम सेवा नपुगेका स्थानमा पनि सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
मन्त्री बास्कोटाले भने–‘दुई वर्षभित्र सबै स्थानीय तहमा टेलिकमको सेवा पुग्छ । सार्वजनिक सूचना केन्द्र पनि पुग्नेछ ।’
‘लोककल्याणकारी विज्ञापन पत्रकारिता क्षेत्रभन्दा बाहिरका संस्थालाई उपलब्ध गराइएको छैन र मूल्यांकनमा मन्त्रालयले कुनै आग्रह र पूर्वाग्रह पनि गरेको छैन’–उनले भने ।
विद्युतीय सन्चारमाध्यमलाई विज्ञापन उपलब्ध गराउने पहिलेदेखिकै प्रचलन भएकाले त्यसलाई अहिले नै हटाउन सकिने स्थिति नरहेको बताउँदै मन्त्री बाँस्कोटाले विज्ञापनका लागि उपलब्ध गराइने रकमको दुरुपयोग हुन नहुने स्पस्ट पारे ।
न्यूनतम् पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार श्रमजीवी पत्रकारको बिमालगायतका विषयमा सरकारको ध्यान पुगेको उनको भनाइ थियो ।
मन्त्री बाँस्कोटाले नेपाली सन्चारमाध्यममा बज्ने विज्ञापनमा नेपाली कलाकार रहने बताए र ‘क्लिन फिड’को कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले वाइफाइ जोन सन्चालनका लागि एप्स बनाइसकेकाले देशभर फ्री वाइफाइको सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
रेडियो नेपालको प्रसारण ८७ प्रतिशत भू–भागमा पुगेको जानकारी दिँदै उनले आगामी आवमा ५०० विद्यालयमा कम्प्युटर ल्याब बनाउने र प्रत्येक प्रदेशमा एक स्मार्ट विद्यालय बनाउने बताए ।
उनकाअनुसार नेपाल टेलिभिजनको प्रसारण कुल जनसंख्याको ७२ प्रतिशत तथा कुल भू–भागको ५२ प्रतिशत भू–भागमा पुगेको छ र ११६ देशबाट यसको प्रसारण हेर्नसकिने भएको छ ।
उनले सबै भू–भाग र जनतामा सेवा पुर्याउने लक्ष्यका साथ काम अगाडि बढाइएको जानकारी पनि सदनलाई दिए ।
दुई वर्षभित्रमा सबै सामुदायिक विद्यालयमा इन्टरनेट पुर्याउने र त्यस कार्यका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै उनले भने–‘युवालक्षित डिजिटल शिक्षा दिने सरकारको योजना छ ।’
सामुदायिक रेडियोका लागि नीतिगत व्यवस्था गर्दै लगिने वचनबद्धता प्रकट गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक र व्यापारिक रेडियो छुट्याएर सरकार सचेततापूर्वक अगाडि बढेको बताए ।
समावेशी भाषाका कार्यक्रमका लागि रेडियो नेपाललाई थप बजेट उपलब्ध गराइएको स्पस्ट पार्दै उनले भने–‘प्रदेशमा सन्चारग्राम निर्माणका लागि बजेट अपुग भए थप गर्न सकिन्छ ।’
पत्रकारको कल्याणकारी कोष बढाउँदै लैजाने र त्यसका लागि सन्चालन कार्यविधि बनाएको जानकारी उनले दिए ।
मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनको कोहलपुरबाट प्रसारण सुरु भइसकेको र इटहरीबाट सुरु हुनेक्रममा रहेको जानकारी दिँदै त्यसका लागि बजेट अभाव हुन नदिने वचनबद्धता प्रकट गरे ।
उनले भने–‘सार्वजनिक सन्चारमाध्यममा हस्तक्षेप गर्ने सरकारको नीति छैन र कुनैपनि कार्यक्रम बन्द भएको छैन । कुनैपनि कर्मचारी निकालिएको छैन ।’
मन्त्री बाँस्कोटासँग २१ सांसदले प्रश्न सोधेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्