
-संजिव कार्की
महामहिम राष्ट्रपति ज्यू ,
स्वीकार्नुहोस, रैतीको रोदन र आंशुले भरिएको अभिवादन !
देशमा राजा फालेर राष्ट्रपति निर्वाचित भएपछि जनता रैतीबाट नागरिक भएको आभाषमा थिए र थियौं, तर अब हामी जनतालाई थाहा भयो त्यो केवल मीठो भ्रम रहेछ । काल्पनिक कुरा रहेछ । जनता राजाका रैतीमात्र होइन, राष्ट्रपतिका पनि रैती नै रहेछन् । हामी फगत रैती रहेछौ, नागरिक भएको भ्रम छरेर हामीमाथि नेताहरूबाट धोका भएको छ । त्यसैले रैतीको भाकामा आफ्ना दुःख र गुनासो पोख्दैछु, माफ गर्नु होला ।
रैती नै भए पनि हामी २१ शताब्दीको चेत बोक्ने मान्छे हौं । धेरैथोर कुरा जानेका छौंं । देखेका छौंं, पढेका छौंं, लेखेका छौं । राजतन्त्रदेखि गणतन्त्रसम्म विश्वको इतिहास पढेका छौंं । हाम्रै देशको राजतन्त्रदेखि गणतन्त्र भोगेका छौंं । राजतन्त्र फालेर गणतन्त्र ल्याउन थोरै भएपनि आफ्नो ठाँउबाट रगत पसिना खर्चेका छौँ । योगदान दिएका छौंं । त्यसैले शासकहरुको रवैयाप्रति बोल्ने हक छ । प्रश्न गर्ने तागत र औंला तेर्स्याउने नैतिकता छ । बिना नैतिकता त किन बोल्थेँ र ?
महामहिम राष्ट्रपति ज्यू ,
मलाई यो पनि थाहा छ हाम्रो जस्तो राष्ट्रपति खोपीका देवतामात्रै हुन् । केवल बेला बेलामा झिकेर पुजा गर्ने, मर्यादा दिने र सम्मान गर्ने । सलामी चढाउनेसम्म हो । जसरी संबैधानिक राजा ‘रबर स्टयाम्प’ मानिन्थ्यो । कुनै कार्यकारी अधिकार नभएको, त्यसैगरी हाम्रो राष्ट्रपति पनि सेरोमोनियल मात्रै हो आलंकारिक पद जसले गर्दा राष्ट्रपतिले गल्ती गर्दैनन् भन्ने मान्यता छ । कार्यकारी अधिकार जसले प्रयोग गर्छ उहीँ हो जस अपजसको भागिदार, यो सैद्धान्तिक मान्यता र बिधिको कुरा हो । नियमको पक्ष हो । तर राष्ट्रपति पनि केही अधिकार भएको र थुप्रै विषय विशेषज्ञको घेराफेरामा रहेर देश संचालनको विषयमा लालमोहोर लगाउने संस्था हो । यो संस्था पनि ब्यक्ति–ब्यक्तिको समूह मिलेर अस्तित्वमा रहने गर्छ । जसको नेतृत्व दोस्रो पटक महामहिम बिद्या भण्डारीले गर्ने सौभाग्य पाउनु भएको छ । जनताको छोरी तपाईं जनताको सुख दुःख देखेको मान्छे, आफै पनि दुःखको पहाड छिचोलेर त्यो उच्चासनमा पुग्नु भएको मान्छे कसरी बिर्सन सक्नुहुन्छ जनताका सुख दुःख ? कसरी भुल्न मिल्छ जनताका पीर मर्का ? यदि तपाईं दरबार मै हुर्केको राजा माहाराजाकी छोरी भएको भए जनस्तरमा रहेको सुख दुःख प्रत्यक्ष थाहा नहुन सक्थ्यो । मैले दुःख देखेको छैन भन्ने छूट पाउन सक्नुहुन्थ्यो तर त्यो सुबिधा तपाईंको लागि छैन र दिन मिल्दैन । तपाईं त जनताको प्रतिनिधि भएर राष्ट्रपति हुनु भएको हो न कि कुनै बंशको उत्तराधिकारी ?
राष्ट्रपति ज्यू ,
तपाईंको पहिलो कार्यकाल खासै विवादित बनेन सामान्य बिरोध र सवारी शैलीको आलोचना भन्दा अरु बिरोध भएको पाइएन । जुन स्वभाविक पनि हो तपाईं जहाँबाट जानुभयो जसले तपाईंलाई जितायो उसको फ्लेवर आउनु सामान्य कुरा हो । त्यो अनर्थ मान्न सकिन्न । दशैंंको टीका देखि आजसम्म तपाईं जुन विषयलाई लिएर विवादमा आउनु भयो त्यो पक्कै मदन भण्डारीको लिगेसी होइन थिएन र हुँदैन । तपाईं किन सर्वसाधारण जनताको छोरी देशको राष्ट्रपतिबाट एकाएक ‘नव महारानी’मा रुपान्तरण हुनुभयो ? किन फेरिए तपाईंका व्यबहार ? किन जनतालाई रैती ठान्न थाल्नु भयो ? कसरी सवार भयो राजा महाराजाको सौख र सान सौकात ? दशैको टीका लगाइदिने शैली त राजा महाराजाको भन्दा पनि तपाईंको भद्दा र कुरुप देखियो नि ? जनतासंगको दुरी किन पर बनाउनु भयो ? नातेदारलाई र सर्वसाधारण जनता देखि पूर्वमन्त्री भएकाहरुलार्इ किन विभेद गर्नुभयो ? बिभेदको त्यो कुरुपता किन तपाईंलाई जाति लाग्यो ? त्यति सामान्य कुरामा कुनै सल्लाहाकार या कुनै सुरक्षा निकायको कमजोरी भनेर दोष अर्काको टाउकोमा हालेर आफ्नो कमजोरी लुकाउन मिल्छ र ? समतामूलक समाज र समतामूलक रितिथिति तपाईंको स्कुलिङ होइन र ?
सरकार हो जस अपजसको भारी बोक्ने भनेर उसले जे गरे पनि चुपचाप लाहाछाप लगाउन तपाईंलाई तपाईंको शालिनताले कसरी दिन सक्यो ? मानवअधिकारको दुहाइ दिने मानवअधिकारकर्मी सुबोधराज प्याकुरेल तपाईंको सल्लाहकार हुँदा हत्या र मानवअधिकार उलंघनका दोषी बालकृष्ण ढुंगेललार्इ माफी दिन तपाईंको हातले कसरी सहि धस्काउन सम्भव भयो ? विवेक भन्ने वस्तु कुन खोपीमा लुक्यो ?
महामहिम रास्ट्रपति ज्यू ,
जनताको गुनासो सुन्ने तपाईंको कान बाक्लो भएको हो ? राष्ट्रपतिको सवारी राजाको भन्दा तडक भडक युक्त भएको जनतालाई सास्ती भएको गुनासो त पुर्व राष्ट्रपति वा तपाईंका सम्धी डाक्टर रामवरण यादवको पालादेखि नै सुनिएको हो । उनी त काङ्ग्रेसी पृष्ठभुमिका मान्छे । हाइफाइ नै गरे त्यो काङ्ग्रेसको नेचर हो भनियो चित्त बुझाइयो । तर तपाईं त कम्युनिस्ट पार्टीको नेतृ अझ मदन कमरेडकी जीवन संगिनी तपाईंबाट पनि त्यस्तै हाइफाइ, अझ गाडी समेत किन्न १८ करोडको कुरा सुन्दा जनता आफैं सर्मित भएका छौं ।
अरु कम्युनिस्ट नेता कार्यकर्ता सायद लाजले पानी पानी भएका छन् । कस्तो बिडम्बना ! कमरेड मदन साइकल चढेर र थोत्रो पुरानो जिप चढेर सधैं जनताको मनमा बस्नुभयो । तर तपाईं करोडौंको कारगेट चढ्ने लालसाले जनताबाट टाढा बन्न जानुहुँदैछ । त्यति महँगो गाडी चढेर जान लाग्नु भएको चैं कहाँ हो ? सरकारले लान खोजेको चै कता हो ?
मदन भण्डारीको यो गर्जन र यो भाषण तपाईं र यहि प्रवृति प्रतिको पुर्वानुमान हो त ? ‘एकजना राजा रहनाले त्यत्रो ठूलो आपत्ति होइन ,गर्दैन तर सामन्तवाद, दलाल, नोकरशाही पूंजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि हाम्रो स्थितिमा कुनै परिवर्तन आउने छैन ।’ हामी अहिले राजा रहनु र नरहनुको तात्विक भिन्नतामा छैनौं । पात्र फेर्नु ठुलो कुरा भएन प्रवृति फेरिनु प¥यो । राजतन्त्र गयो तर राजतन्त्रको बेला भन्दा खराब हालतमा देश गयो भन्नुपर्दा मलाई पनि खेद छ । किनकी ‘राजतन्त्र मुर्दावाद ! गणतन्त्र जिन्दावाद !’ को नारा हामीले पनि घन्काएका थियौं । नेपाली जनताको सपना र सहिदहरुको बलिदान यहि र यस्तै दिन देख्नको लागि हो र ?
गाउँ घरमा अस्पताल जान एम्बुलेन्स छैन् । शहरमा भएका अस्पताल पनि सेवा लिन योग्य छैनन् । गाउँमा बिरामी बोक्ने सामान्य स्टेचर समेत छैन् । बस चढ्ने जनताको हैसियत छैन् । तर तपाईंको लागि गाडीमा मात्रै १८ करोड के यो सुहाउने कुरा हो ? १८ करोड आफैंमा ठुलो रकम होइन रैती दुनियाँ सबैलाई भाग लगाउने हो भने तीन करोड हाराहारी जनसंख्या भएको मुलुकमा एक रैती बराबर जम्मा ६ रुपैयाँ मात्रै हो जसलाई तुरुन्त आपतकालिन कोष बनाएर जम्मा गर्न सकिन्छ यहाँ कुरो नितिको हो, नियतको अनि नैतिकताको पनि ।
महामहिम ज्यू ,
तुइनमा चढेर स्कुल जाने बालबालिका हेर्नुस । गरिबको चुहिने छानो हेर्नुस । अस्पतालको अभावमा अकालमा ज्यान गुमाउने हजारौं नारी सम्झनुस । सिटामोल र जीवन जलको अभावमा तडपिएर नै मर्ने आत्मालार्इ सोच्नुस अनि भन्नुस सरकार मेरो लागि हैन त्यतातिर ध्यान देऊ ।
बृद्ध भत्ता वृद्धि गर्न काङ्ग्रेसले ढुकुटी रित्याएको आरोप लगाउने सरकारलाई सोध्नुस आफ्नो मन खुशी गर्न बजेट कहाँबाट आउँछ ? कुन प्रभुले भरिदिए भण्डार ? शीतल निवास तपाईंको लागि सांघुरो भएको कुरा पनि बाहिर आएको छ । सहर नै पुरै कब्जा गर्ने खै कस्तो सौख हो ? किन चाहियो त्यति फराकिलो ठाउँ ? किन हटाउनु पर्यो पुलिस एकेडमी ? कि जिन्दगीभर तपाईंको बंशको किल्ला बन्ने भो शितल निवास ? कतै तपाईंको बंश परम्परा स्थापित गर्न सरकार लागि परेको त छैन ? सरकारले जे गरे पनि चुप रहेर कतिन्जेल जनताको गाली पचाउनु हुन्छ महामहिम ज्यू ? किन जनताको गाली, आक्रोश, असन्तुष्टि प्रिय लाग्दैछ ? राष्ट्रपति पद सम्मानको लागि हो । बेइज्जत, बेइमानी र चाकरी चाप्लुसीको लागि होइन । राष्ट्रपति पनि कुनै मुर्ति होइन जो नबोलोस । बढी र धेरै पो बोल्नु हुँदैन । जे पायो त्यही पो बोल्न हुदैन त । जनताको सरोकारको विषयमा बोल्न त हुन्छ होला पक्कै पनि ।
महामहिम रास्ट्रपति ज्यू ,
बोल्नुस । खोपीको देवताले पनि बोल्न मिल्छ कहिलेकाही । आफूलाइ परेको पीरमर्का खोल्न मिल्छ कहिलेकाही ? तपाईंको पोस्ट देखाएर तपाईंप्रति नै बेइमानी गर्नेका विरुद्ध बोल्न मिल्छ , बोल्नुस । तपाईलाई देखाएर ज्यादती गर्ने पनि होलान् । तपाईंको नाम वेचेर स्वार्थको सेल पकाउने पनि होलान् । तपाईं राष्ट्रपति भएर होइन मान्छे भएर पनि बोल्नुस कहिलेकाही । जनताको रोदन, गुनासो र दुःखको पेटारो फुकाए । गल्ती कमी कमजोरी भए माफी चाह्न्छु । रैती भएर पनि मौसुफसंग सबाल गरे अन्यथा नलिइदिबक्स्योस । प्रभु म तपाईंकै राज्यको प्रतिनिधि पात्र रैती हुं ।
‘घाँटी हेरी हाड निल्नु’, पुर्खाको शुद्धिबुद्धी मफ्फतमा पाएँ भन्दैमा जे सुकै खाने । काँचो होस् या कचिलो । कुरो नैतिक बन्धनको पनि हो । तर तामशको आँखा हुँदैन ।’ पूर्वराजदूत टंक कार्कीको यो फेसबुक स्टाटस उद्दृत गर्दै चिट्ठीको बिट मारें । रिसानी माफ होस प्रभु ।
उहीँ तपाईंको रैती
प्रतिक्रिया दिनुहोस्