
रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का बसन्त ओलीले २० भन्दा बढी उपकरण निर्माण गरेका छन् । उनले निर्माण गरेका चोर पत्ता लगाउनेदेखि पानी बन्द गर्ने मेसिनसम्मका उपकरणहरु निकै चर्चित छन् ।
इलेक्ट्रोनिक सवईन्जिनियर तेस्रो वर्षमा अध्ययनरत २१ वर्षिय ओलीले करिब एक वर्ष अघिबाट विभिन्न आश्चर्यजनक प्रविधिको विकास गर्दै आएका छन् ।
उनले निर्माण गरेका उपकरणको सहायताले फोन गरेर नै राईसकुकर, फ्रिजलगायतका केही उपकरणलाई अन अफ गर्न सकिने छ ।
घरमा कोही नभएका बेला चोर पसेको पत्ता लगाउन सकिने सेक्युरिटी सिस्टम, वाटर सेल्सर, पाँच मिटर टाढाबाट बत्ती अन अफ गर्न सकिने र रिमोटबाट बन्द ढोका खोल्न सकिने, घरमा बलेको बत्ती तथा फ्यान पनि बन्द गर्न सकिने उपकरणको विकास उनले गरेका हुन् ।
उनले ताली बजाएर पनि बत्ती अन अफ गर्न सकिने तथा पानीको सतहसमेत पत्ता लगाउने उपकरणको विकास आफूले गरेको दाबी गरेका छन् ।
७० हजार रुपैयाँभन्दा बढी रकम खर्च गरेर विभिन्न देशबाट इलेक्ट्रिक सामग्री खरिद गरेका ओलीले आफूले बनाएका २० भन्दा बढी उपकरणले सफलता पाएको दाबीसमेत गरेका छन् ।
तर, अहिले सम्म धेरै नयाँ उपकरणको विकास गर्दा कसैले पनि सहयोग नगरेको उनले बताए ।
नयाँ आविष्कार गरेका उपकरणहरुलाई अब कम्पनी मार्फत व्यवसायिक रुपमा अगाडी बढाउने उनले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्