२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


हुम्लामा छैटौं राष्ट्रपति रनिङ शिल्ड शुरु, अधिकांश विद्यालयले सहभागिता जनाएनन्


0
Shares

जिल्ला खेलकुद विकास समिति हुम्लाको आयोजनामा शुक्रबारबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको हो । प्रत्येक बर्ष जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयमा संचालन गरिने प्रतियोगिताको यो बर्ष मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटले व्यवस्थापनको जिम्मेवारी पाएको छ ।

शुक्रबार उद्घाटन समारोहमा विद्यालयका छात्रछात्राहरुले संस्कृतिक प्रस्तुतीसमेत गरेका थिए ।

प्रतियोगिता नियमित रुपमा प्रत्येक बर्ष संचालन हुने भए पनि यसको लोकप्रियता घट्दै गएका कारण जिल्लाका कुल २७ माध्यामिक विद्यालयमध्ये ११ विद्यालयले मात्र सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सटफुट, ज्याभलिन थ्रो, हाईजम्प, ट्रिपलजम्प, लङ्गजम्प, भलिबल र दौडमा प्रतिश्पर्धा भईरहेको छ ।

माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु प्रतियोगितामा प्रतिश्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सहभागिता न्यून हुँदै जानुले हुम्लाको खेलकुुदको अवस्था नाजुक रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले बताए ।

२०६९ सालबाट हुम्लामा शुरु गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छैटौं संस्करणसम्म पुग्दा खेलमा विद्यालयको सहभागिता कम हुँदै गएको छ । जिल्ला सदरमुकाममा सञ्चालन भई रहेको प्रतियोगितामा विद्यालयको आन्तरिक स्रोतबाट खर्च व्यहोर्नु पर्ने भएकाले पनि सहभागिता घटेको आयोजक बताउँछन् ।

जिल्ला सदरमुकाम सिमकोटमा निर्माणाधिन खेल मैदानमा पहिलो पटक प्रतियोगिता सञ्चालन भइरहेको हुँदा खेलकुद व्यवस्थापनमा कठिनाई भएको छ । प्रतियोगिता चैत २८ गतेसम्म सञ्चालन गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बोहराले बताए ।

प्रतियोगिताको पहिलो दिन छात्र भलिवल, एक सय मिटर दौड छात्रछात्रा र ज्याभलिन थ्रो खेलमा प्रतिष्पर्धा भएको छ ।

पानी परेर खेल मैदान हिलो भएका कारण दोस्रो दिनका खेल प्रभावित भएका छन् । रातिदेखि लगातार पानी पर्दा खेल मैदान हिलो भएका कारण खेल शुरु हुन केही ढिलाई हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बोहराले बताए ।