१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


डीपीएलको तयारी पूरा, क्रिकेटमा लगानीबिना अगाडि बढ्न असम्भव : पारस


0
Shares

आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

‘मैदान ‘फिनिसिङ’को केही कामबाहेक सम्पूर्ण तयारी पूरा भइसकेको एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

उनले यो वर्षको प्रतियोगितामा हरेक टिममा दुई/दुईजना विदेशी खेलाडी समावेश रहेको जनाउँदै प्रतियोगिताको प्रत्यक्ष प्रशारणलगायतमा केही नयाँ प्रयास गरिएको जानकारी दिए ।

प्रदेश नम्बर–७ संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता खेल्नका लागि खेलाडीहरु धनगढी आइसकेका छन् ।

डीपीएल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)लेसमेत मान्यता प्रदान गरेकाले यो प्रतियोगितामार्फत् धनगढीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने शाहीले उल्लेख गरे ।

पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले मुलुकको क्रिकेटले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएका बेला डीपीएल खेल्न पाउँदा खेलाडीहरु थप उत्साहित भएको बताए ।

क्रिकेटमा लगानीबिना अगाडि बढ्न असम्भव रहेको बताउँदै उनले मुलुकमा हुने ठूला–साना घरेलु प्रतियोगिताले नै क्रिकेटको विकासमा सहयोग गरेको बताए ।

आयोजकले शुक्रबार सबै टिम र खेलाडीहरुको उपस्थितिमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्ने जनाएको छ ।

डीपीएलमा ६ टिम महेन्द्रनगर युनाइटेड, टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन र विराटनगर किंग्सले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको विजेता टिमले नगद २५ लाख, उपविजेताले १० लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः तीन र दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एउटा सुनको जुत्ता र ‘प्लेयर अफ द सिरिज’लाई एकथान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।