१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ब्राजिलले जर्मनीलाई हरायो, अर्जेन्टिनाको पोष्टमा स्पेनको ६ गोल


0
Shares

काठमाडौं, चैत १४ । मैत्रिपूर्ण फुटबलको एक खेलमा ब्राजिलले जर्मनीलाई हराएको छ ।

आसन्न विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सन् २०१४ विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको हो ।

गत विश्वकपमा जर्मनीसँग ७-१ को भारी अन्तरले पराजित भएको ब्राजिलले त्यसयता हिजो पहिलो पटक आमने-सामने हुँदा जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो । खेलमा ब्राजिलका लागि ग्याब्रियल जिससले निर्णायक गोल गरे ।

मैत्रिपूर्ण फुटबलकै अर्को खेलमा स्पेनले अर्जेन्टिनालाई ६-१ को भारी अन्तरले हराएको छ ।

स्पेनको मड्रिडमा भएको खेलमा स्टार खेलाडी लियोनल मेसी विना मैदानमा उत्रिएको अर्जेन्टिनालाई लज्जास्पद हारको स्वाद चखाउन स्पेनका इस्कोले ह्याट्रिक गरे ।

यसैगरी डिएगो कोष्टा, थियागो अल्कान्तारा र ईयागो आसपासले एक एक गोल थपे । अर्जेन्टिनाका निकोलस ओटामेण्डीले एक सान्त्वना गोल फर्काए ।

गएराति भएको अर्को खेलमा ईटाली र इङ्गल्याण्डले १-१ गोलको बराबरी खेले ।

खेलमा इङ्गल्याण्डका जेमी भार्डीले पहिलो गोल गरेपनि ईटालीका लोरेन्जो ईन्सीग्नेले ८७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका हुन् ।