२४ असार २०८२, मंगलबार | Tue Jul 8 2025


भारतले सहमति नदिँदा पुल निर्माणमा ढिलाइ


0
Shares

पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलंगेपुलको निर्माणकार्य अघि नबढेको हो ।

महाकाली नदीमाथि झोलुंगेपुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुसी भएका बैतडीको तल्लोसोराड क्षेत्रका बासिन्दा निराश भएका स्थानीय वीरेन्द्र महताले बताए ।

भारतीय बजारमा आवत–जावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी निराश भएका जानकारी दिँदै उनले भने–‘डुंगाको जोखिमपूर्णयात्रा अन्त्य हुने आशामा थियौं तर भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ ।’

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत्को झोलुंगेपुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीनओटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो ।

दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुंगेपुल निर्माणका लागि ठेक्का सम्झौता भएपनि पञ्चेश्वरमा भने काम नै सुरु हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

रु एक करोड ३३ लाखको लागतमा १२४ मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता भएको हो ।

पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुंगेपुल निर्माणका लागि भारतको केन्द्रीय सरकारबाट ‘नो अब्जेक्सन लेटर’ पाएपनि प्रान्तीय सरकारबाट सहमति आउन बाँकी रहेको झोलुंगेपुल डिभिजनका योजना प्रमुख गुरुप्रसाद शर्माले बताए । रासस