
निर्वाचन समितिका संयोजक अधिवक्ता सुमन केसीले पाटन उच्च अदालतले चुनाव रोक्न दिएको अन्तरिम आदेशको पालना गर्ने बताए ।
भक्तपुर र मकवानपुरले एन्फाको निर्वाचनमा मताधिकार पाउनुपर्ने भन्दै अदालतमा रिट निवेदन दर्ता गरेपछि बिहीबार उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले भक्तपुर र मकवानपुर नसमेटी निर्वाचन नगर्न अन्तरिम आदेश दिएको हो ।
निर्वाचन समिति संयोजक केसीले चैत १४ गतेको निर्वाचन रोकिने बताउँदै त्यसपछि चुनाव गर्नका लागि दुवै जिल्लामा परेको मुद्दा फिर्ता लिएर सहमति हुने हो भने पहिले त्यहाँ साधारणसभा गरेर अनि केन्द्रको निर्वाचनको मिति तोक्नसकिने बताए ।
यसैबीच, विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी)ले तोकिएकै तालिकाअनुसार निर्वाचन गर्न निर्देशनात्मक आसयको पत्र एन्फालाई पठाएको छ ।
यस सम्बन्धमा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले समयमा निर्वाचन गर्नु भन्ने आसययुक्त पत्र आएपनि यहाँको पछिल्लो घटनाक्रम जानकारी गराएकाले केही समय सार्न मिल्ने संकेत पाएको बताए ।
उनले दुई जिल्लाको समस्या समाधान गरी चुनावमा जान केही दिन लाग्ने भएकाले सोअनुसारको जानकारी फिफा र एएफसीलाई गराएको बताए ।
एन्फाको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा समूहबीच भिडन्त हुने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस्