
मन्त्री पुनले आर्थिक समृद्धिका लागि ऊर्जा प्रमुख आधारस्तम्भ भएको पनि उल्लेख गरे ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ऊर्जामन्त्री पुनले अब सरकार कुनै बहानामा विकासबाट पन्छिन नपाउने बताए ।
राजनीतिक दलले घोषणा गरेको समृद्धिको दिशातर्फ जानु सरकारको दायित्व र बाध्यता दुवै भएको मन्त्री पुनको भनाइ थियो ।
सरकारले दोहोरो अंकको आर्थिक वृद्धिको संकल्प लिएको र त्यसका लागि ऊर्जा नै प्रमुख आधारस्तम्भ भएको उनको भनाइ छ ।
मन्त्री पुनले निर्माणाधीन जलविद्युत् आयोजनामा परेका अप्ठ्याराकाबारेमा सरकारले अध्ययन गरिरहेको बताए ।
उनले आगामी १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन र खपत गर्नेगरी सरकारले योजना बनाउने बताउँदै आफूले पुराना मन्त्रीहरुको योजना र घोषणालाई निरन्तरता दिँदै यस क्षेत्रको विकासका लागि केही नयाँ योजनासहित अघि बढ्ने बताए ।
उनले १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनासमेत अघि बढाउने लक्ष्य राखेको जानकारी दिँदै सार्क राष्ट्रभित्र विद्युत् जोड्नका लागि पहल गर्ने बताए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष शैलेन्द्र गुरागाइँले ऊर्जा क्षेत्रमा नयाँ–नयाँ योजना र कार्यक्रमभन्दा पुराना प्रतिबद्धता र योजना कार्यान्वयन गरेमात्र पनि जलविद्युत्को विकास हुनसक्ने बताए ।
उनले सरकारले जलविद्युत् विकासका लागि सिंगल डेस्कको व्यवस्था गर्नुपर्ने बताउँदै प्रसारणलाइनमा देखिएको ढिलाइको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सहभागीहरुले नीति र योजनाहरु प्रभावकारी रहेपनि कार्यान्वयनको पक्षमा सरकार सधैं कमजोर देखिने गरेको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्