
उनले भनिन्, ‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्याउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्तर्गत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जाडिएको विषय भएको बताईन् । उनले भनिन्, ‘मेलम्चीको पानी काठमाडौं ल्याउन निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजोमात्रै मेलम्ची पुगेर आएँ, मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पूनः सूचारु भएको छ ।’
उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्वार) ‘ब्रेक–थ्रु’ गर्ने विश्वास आफूलाई निर्माण कम्पनीले दिलाएको पनि स्पष्ट पारिन् । ‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिरिटमा काम गर्न निर्देशन दिएको छु,’ उनले भनिन् । मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंवासीहरुलाई आग्रह समेत गरिन् ।
तराई–मधेशका २२ जिल्लामा खानेपानीमा देखिएको आर्सनिकको समस्या समाधान गर्न तराई–मधेश खानेपानी सुधार कार्यक्रम सञ्चालनमा आएकोले त्यसलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उनले विश्वास दिलाईन् । त्यस्तै उनले हिमाली रेञ्जको सरसफाईमा पनि आफूले विशेष ध्यान दिने प्रतिबद्धता जनाईन् ।
काठमाडौं उपत्यका र शहरमा देखिएका पानीको समस्यालाई हल गर्नको लागि चुहावटलाई पनि रोक्ने उनको अठोट थियो । उनले भनिन्, ‘पानीको समान पहुँच पुर्याउँछौं, उपत्यका र देशका विभिन्न शहरमा देखिएका समस्याहरुलाई वैज्ञानिक रुपमा हल गर्नेगरि म कार्यक्रम अघि बढाउँछु ।’
त्यस्तै उनले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताईन् । उनले भनिन्, ‘संविधानको धारा ३० मा पनि सरसफाईको बारेमा उल्लेख गरिएको छ, सोही अनुसार हामी ०७५ साललाई राष्ट्रिय सरसफाई अभियान सञ्चालन गर्छौं ।’ केही वर्षभित्र बाग्मती, विष्णुमति र धोबीखोलालाई पर्यटकीय रुपमा विकास गर्नेपनि उनले सुनाईन् । ‘त्यसको लागि प्राकृतिक र कृत्रिम रुपमा पनि पानीको बहाव बढाउँछौं,’ उनले भनिन् ।
मन्त्री मगरले कम्तिमा पनि आफ्नो कार्यकालमा बाग्मतीमा र्याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाईन् । ‘स्वस्थ खानेपानी र सफा वातावरण नागरिकको मौलिक अधिकार हो, त्यसैले यही स्पिरिटमा म काम गर्छु,’ उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्