
नवलपरासी, चैत ७ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुकेका स्थानीयलाई वडा कार्यालय पुग्नै चार घण्टा लाग्ने गरेको छ ।
उनीहरु आप्mनै वडामा पुग्न अर्को प्रदेश भएर जाने गर्छन् । सडक नहुँदा उनीहरु प्रदेश नं. ४ को दुम्किवास हुँदै वडा कार्यालय पुग्नु परेको हो ।
वडा कार्यालय पूर्वपश्चिम राजमार्गको बर्दघाट बजारस्थित चिसापानीमा छ । बर्दघाट प्रदेश नं. ५ मा पर्दछ ।
नगरपालिका क्षेत्रको संसारकोट हुँदै गएपनि उत्तिकै समय लाग्ने भएकाले उनीहरुलाई राजमार्गस्थित दुम्किवासबाट जान सहज भएको उनीहरु बताउँछन् ।
वडाको काम सकेर घर फर्कन पूरै एक दिन लाग्ने गुनासो स्थानीयको छ ।
नगरपालिकाको विकट भेगमा रहेको पटुके क्षेत्रको सडकलाई दाउन्ने पहाडको वैकल्पिक मार्गका रुपमा विकास गर्ने योजना रहेको बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्माले बताएका छन् ।
खानेपानी, विद्युत र स्वास्थ्यको समस्या पनि समाधान गर्ने गरी अघि बढेको नगरपालिकाको भनाइ छ । ६० घर परिवार रहेको त्यहाँ करीब ३ सय मानिस बस्दछन् ।
प्रतिक्रिया दिनुहोस्