
चीनको संसदकारुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत् निर्वाचित गरेको चिनियाँ सन्चारमाध्यमहरुले जनाएका छन् ।
केन्द्रीय सैन्य आयोगको अध्यक्षमासमेत निर्वाचित भएका सी हाल ६४ वर्षका छन् ।
उनले निर्वाचित भएलगत्तै संविधानअनुसार ‘ग्रेट हल अफ द पिपुल्स’मा शपथग्रहण पनि गरेका छन् । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले शपथ लिएको यो पहिलोपटक हो ।
गत अक्टोबरमा उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित भएका थिए ।
सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल ब्यूरोको स्थायी समिति सदस्यकारुपमा केन्द्रीय नेतृत्वमा जोडिएका सी छोटो समयमै अहिले सर्वाधिक शक्तिशाली नेता बन्न सफल भएका छन् ।
उनी अब अनिश्चितकालसम्म राष्ट्रपति बन्ने भएका छन् । गत हप्ता चिनियाँ संसदले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो ।
राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत् गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिएका थिए । त्यसपछि नै उनको कार्यकाल लम्बिने स्पस्ट भएको थियो ।
उनले राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल भएका छन् ।
संसदले सीका निकट मानिने भ्रष्टाचारविरोधी अभियान्ता वाङ चिसानलाई पनि शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।
राष्ट्रिय जनकंग्रेसको १३औं बैठकको पहिलो चरणमा सहभागी झन्डै तीन हजार सांसदहरुले उनलाई निर्वाचित गरेका हुन् ।
उनी निर्वाचित भएको घोषणा भएलगत्तै उनीसँग नवनिर्वाचित राष्ट्रपति सी चिनफिङले हात मिलाएर बधाइ दिएका थिए । उपराष्ट्रपति वाङले पनि शनिबार नै शपथग्रहण गरेका छन् ।
सन् १९४८ मा जन्मिएका वाङ विगत केही वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय तहमा रहेका थिए । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्