प्रस्तावित विधानमा आमूल परिवर्तन गर्नुपर्ने कांग्रेस जिल्ला सभापतिहरुको निष्कर्ष (भिडियो)

news

सरोज अधिकारी र भरत केसी (इमेज)

ककनी, मंसिर १३ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टीको प्रस्तावित विधान मस्यौदामा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

नुवाकोटको ककनीमा बिहीबार सम्पन्न कांग्रेस जिल्ला सभापतिहरुको दुईदिने भेलामा कांग्रेसको प्रस्तावित विधान मस्यौदामा पार्टीलाई सामूहिक नेतृत्वमा लैजानुपर्ने र पदाधिकारी थप गर्नुपर्नेलगायतका थुप्रै बुँदाहरु संशोधन हुनुपर्ने मत राखेका हुन् ।

६४ जिल्लाका सभापतिहरु सहभागी बैठक तल्ला तहका समितिहरुलाई बलियो बनाउने गरी विधानमा २४ र अन्य समसामयिक १४ गरी ३८ बुँदे घोषणा जारी गर्दै सकिएको हो ।

उनीहरुले २४ बुँदा भने कांग्रेस विधानमा समेट्न नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।

सभापतिहरुले स्थानीय तहको उम्मेदवार छान्ने अधिकार तल्लो तहलाई नै दिनुपर्ने बताएका छन् ।

संघीय तहका निर्वाचनको उम्मेदवारी केन्द्रीय समितिबाट टुंगो लगाउने, प्रदेशको प्रदेश समिति र स्थानीय तहका जिल्ला समतिहरुबाट तय गर्नेगरी विधानमा नै व्यवस्था गर्न भनेका छन् ।

सभापतिहरुले केन्द्रीय समितिदेखि वडा तहसम्म नै मनोनीतको अधिकार हुनुपर्ने भन्दै केन्द्रीय समितिमा पूर्वसभापतिहरुबाट मनोनीतको व्यवस्था गर्न माग गरेका छन् ।

कुनै गुट र समूहमा विभाजित नभइ विधानको विषयमा बहस गरेका सभापतिहरुले पार्टीभित्रको गुटका कारण पार्टीमा अहिले पनि आकर्षण बढाउन नसकिएको भन्दै पार्टी नेतृत्व सुध्रनुपर्ने बताएका छन् ।

उनीहरुले पार्टीका नेताहरुलाई एकढिक्का भएर जान आफूहरुले अपिल गरेको पनि बताएका छन् । देशभर पार्टी एकताको सन्देश दिनेगरी बैठक भएको दाबी उनीहरुले गरेका छन् ।

सभापतिहरुको बैठकले वर्तमान सरकारले देश र जनतालाई ठग्नेमात्र काम गरेको भन्दै त्यसविरुद्ध भन्डाफोर अभियान चलाउन र निर्मला पन्तको न्यायका लागि लडाइँ जारी राख्नुपर्नेमा अपिलसमेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको नाममा पछिल्ला दिनमा गरेको प्रचारलाई पनि उनीहरुले निकृष्ट कार्य भन्दै आलोचना गरेका छन् ।

पार्टीको महासमितिको मुखमा भएको सभापतिहरुको बैठकलाई कांग्रेसभित्र अर्थपूर्णरुपमा हेरिएको छ ।

सभापतिहरुले महासमितिमा पनि आफूहरु साझा ढंगबाट प्रस्तुत् हुने र पार्टीलाई नयाँ ऊर्जा दिन नेतृत्वलाई दाबाब दिने बताएका छन् ।

सभापतिहरुले प्रस्तुुत् गरेको विधान संशोधनको विषय भने जारी केन्द्रीय समिति बैठकमा पेस गर्ने भएका छन् ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...