९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


डाक्टर केसी सजायको भागीदार नबन्न, के भगवान हुन् र ?


0
Shares

-संजिव कार्की

देशको मूल कानुन र संबिधान भन्दा माथि कोहि छैनन् । कानुनको नजरमा सबै नागरिक समान र एकै हैसियतमा रहनुपर्छ । विधिशास्त्रले कसैलाई नजिक र कसैलाई पर गर्न सुहाउन्न र गर्न मिल्दैन । कानुन नियम र ऐनले तेरो, मेरो र आफु अनि आफ्नो स्वार्थ अनुकुल ब्याख्या विश्लेषण दण्ड र पुरस्कार गर्न हुँदैन यो कानुनको पहिलो र अन्तिम शर्त हो । न्यायिक फैसलामा असहमति जनाउन पाइन्छ । मर्का पर्‍यो भन्न पाइन्छ । तर अस्विकार गर्न र अपमान गर्न पाइन्न
। पुनरावेदन गर्न पाइन्छ ,गुनासो राख्न सकिन्छ, म चै मान्दिन भन्न पाइन्न । भलै कतिपय फैसला बिबादित र अशोभनीय नै किन नहुन ? कमजोरी मान्छेले गर्ने हो तर नियत बदनियत र निहितार्थ गरीएको कमजोरी र सामान्य मानवीय भुल फरक कुरा हुन् एकै होइनन् ।

हामी नियतवस गरिएको सुनियोजित गल्ती अनि उस्तै लाग्ने मानवीय कमजोरी जहाँ कुनै निहित उदेश्य र प्रयोजन छैन दुवैलाई एकै तुलोमा राखेर हेर्छौ । आफ्नो आफ्नो फाइदा-नाफा नोक्शानको हिसाब–किताब गरेर प्रोपगाण्डा चलाउछौ । मिडियाबाजी गर्छौं । यस्तै प्रपन्चको शिकार भएका छन् डाक्टर गोविन्द केसी, अनि प्रधानन्यायधीस गोपाल पराजुली । हुनत डाक्टर केसीको नैतिकता र पराजुलीको कर्म तुलनीय छैनन् तथापि दुवै नियतिको शिकार भएको पाइन्छ । प्रधानन्यायाधीश नियत र नियति दुवै खराव भएका चर्चित तर शक्तिको दुरुपयोग गर्ने पात्र हुन् ।

यद्यपी, उनीमाथि पनि अनावश्यक लान्छना आरोप लागेको कुराले हाम्रो वौद्दिक दरिद्रता प्रकटीकरण हुन्छ । झट्ट सुन्दा बहुबिबाहको आरोप पराजुली माथी लागेको सामान्य र विधिको कुरा जस्तो देखिए पनि यसको अन्तर्य दुखद र मानवीय छ । मर्मस्पर्शी छ । बहुबिबाह बाध्यता र दैवी प्रहारको उपज हो तर जसरी यसलाई अतिरन्जनापूर्ण गराइयो जसबाट हाम्रो मानवीय संवेदना भुत्ते र रुखो अनि जड जस्तै लाग्छ । हामी सतहमा जे देखिन्छ जस्तो सुनिन्छ त्यस्तै कुराको पछि दगुर्छौ दाँयाबाँया हेर्दैनौ एउटा धारणा बनाईहाल्छौ । मनको भंडास पोखिहाल्छौ । हतार गरेर सार्वजनिकरुपमा पस्किहाल्छौ जसको कारण निर्दोष र सफेद मान्छेले कस्तो मानसिक पिडा झेल्नुपर्छ खप्नु पर्छ । प्रधानन्यायाधीश गोपाल पराजुली माथि बहुबिबाहको जुन प्रताडना दियौं त्यो उनी माथिको अन्याय हो । जुन जोकसैले गरेको भए पनि खेदजनक र घृणा कर्म हो । उनका अरु सयौं गल्ति छन् जसलाई उधिन्न सकिन्छ खोतल्न सकिन्छ तर परिस्थितिले जन्माएको विषम परिस्थितिको बाध्यता र रहरलाई मजाक र प्रतिशोधको विषय बनाउनु हाम्रो समाजको दुर्नाम र बद्नाम हो जो अधर्म र पाखण्ड हो । मानवीय आचरण होइन । मानवीय बाध्यताको उपजलाई कानुनको बखेडा बनाइनु हुँदैन ।

उनको नागरिकता र किर्ते सम्बन्धी जुन जल्दोबल्दो र चर्चित विषय र समाज गर्माएको कुरा छ त्यसलाई मिहिन ढंगले केलाउन खोज्न र उधिन्न सकिन्छ निहितार्थ गरिएको किर्ते हो भने सजायको कठघरमा उभ्याउन सकिन्छ र उभ्याउनुपर्छ । तब मात्र समान नागरिक, समान कानुनको अवधारणा र कानुनी राजको कुरा आउँछ । सानालाई ऐनले बाध्ने ठुलालाई चैनले बस्न दिने स्थिति बन्नु हुन्न । लाभको उदेश्यले नागरिकता सच्चियो, सच्याएको हो भने त्यसको छानबिनका लागि उनले सहयोग गरेर वास्तविकता उजागर गरी कमजोरी भए सजाय र कमजोरी प्रमाणित नभए सफाइको अवसरलाई सदुपयोग गर्नु पर्छ । कमजोरी सामान्य मानवीय त्रुटी भुलबस मात्र हो या कुनै प्रयोजन र उदेश्यको लागि हो त्यो बाहिर आउनु जरुरि छ । सामान्य मानवीय भुल मात्र हो भने तिललाई पहाड बनाउनुको कुनै औचित्य छैन । यदि उनको पाँचौ पटकसम्म सच्याएको जन्म मिति प्रयोजन परक रहेछ भने यो भन्दा अर्को निक्रिस्ट लज्जा अरु हुदैन । यदि त्यसो होइन डाक्टर गोविन्द केसीको आरोप मात्र हो भने डाक्टर केसीलाई मानहानीको मुद्दामा सजायको भागीदार बनाएर जेल हाल्नु श्रेयस्कर हनेछ । तब देश कानुनी राजमा छ भन्ने अनुभूति सबैमा हुन्छ र देखिन्छ ।

बिना प्रमाण आरोप लगाएर कसैलाई बदनाम र मान हानी गर्न नहुने रहेछ भन्ने लेसन मिल्छ । देशले लेसन साना र सामान्य मान्छेबाट हैन ठुला र असल भनिएकाबाट सिक्न पर्छ । त्यो प्रभावकारी हुन्छ । तसर्थ गल्ती गर्दा गोविन्द केसीले सजाय पाउन किन नहुने ? कानुनी बन्दोबस्तीमा कुनै अमुक ब्यक्तीलाई देखाएर त्यसको कुरा सुन्दिन उसले दिएको कानुन मान्दिन, त्यो चै तारिख लिन्छु उसको चैं लिन्न भन्ने छूट नहुनु पर्ने हो ? डाक्टर केसी भगवान होइनन उनलाई सबै कुराको छूट हुँदैन र सुहाउदैन । व्यक्ति मन नपर्न सक्छ उसको फैसला मन नपर्न सक्छ उसले अन्याय गरेको हुन् सक्छ । तर उ त्यो निकायमा रहुन्जेल त्यो पदको मर्यादा र नियम, विधिको सर्वोच्चतालाई आफ्नो निष्ठा बनाउने मान्छेले मान्दिन भन्न पाइन्न । अस्विकार गर्न हुँदैन । यदि यसो गर्दैजाने हो भने मन नपरेको मान्छेको इजलास सबैले सधै बहिस्कार गर्ने स्थिति बन्छ । सँधै सबैलाई सबै त कहाँ मन पर्छ र ? बिधि त थितीको कुरा गर्नेले बेथितिको बाटो हिड्न मिल्दैन । डाक्टर केसी अदालतमा गएर कानुनी लडाई गर दोबाटोमा बसेर नारी सुर्कने काम बेठिक हुन्छ ।

डाक्टर केसी पनि गोपाल पराजुलीको जन्म मितिको बिबादमा औलो उठाउँदै गर्दा आफु पनि सोहि बिबादमा तानिए किन ? सामाजिक संजाल र धेरै तिर लेखियो आज आफ्नो त्रुटी मानवीय कमजोरी अर्काको नियतवस । डाक्टर केसी सामान्य मान्छे हुन् नकि भगवान ? भगवानसँग त मान्छे गुनासो गर्छ म माथि अन्याय गरिस मलाई चैं किन यस्तो दुःख दिइस ? मलाई मात्रै किन पीडाको सागर नै तयार गरिस आदि इत्यादी भनेर मान्छेमा गुण अवगुण हुनु स्वाभाविक हो ठानियो । तर पनि किन डाक्टर केसीलाई मान्छे अवगुण रहित मान्छे देख्न चाहन्छन । डाक्टर केसीले असावधानीवस त्रुटी गरेका छन् जो उनले आफैं स्वीकार गरेर सार्वजनिक गरे । उनले आफ्नो दस्तावेज सार्वजनिक गरेर सार्वजनिक जवाफदेहिताको उदाहरण पेश गरे यो सबैले सिक्नुपर्छ ।

कमजोरी छ म कमजोरी सहितकै मान्छे हुँ भनेर उनले जुन सरलता र सहजता देखाए के यो अनुकरणीय कुरा होइन ? उनले भनेका छन् मेरो असावधानीले भएको त्रुटिमा मेरो चारित्रिक प्रमाणपत्रको कारण म सेवा दिन असक्षम हुन्छु भने तत्काल राजिनामा दिन्छु । राज्यको बैधानिक निकायले छानबिन गरी उनी सो त्रुटिको कारण सजायको भागीदार हुन्छन, बन्छन भने उनलाई कार्यबाही नगर्नुपर्ने कुनै कारण छैन र हुँदैन पनि । कानुनले जस्तो सजाय दिन्छ म त्यो मान्न मन्जुर छु भनेर उनले जुन कुरा स्वीकार गरेका छन् अब यो विवाद र अपयसको बिषय बन्छ र ? राज्यलाई आफुमाथि छानबिन गर्न खुल्ला आमन्त्रण गरेपछि उनको बारेमा अरु बोल्नु पर्छ र ?

पारदर्शिता, नैतिकता, इमान्दारिता सरलता र मानवीय सेवालाई आफ्नो नित्य कर्म र धर्म ठान्ने केसीको मानवीय कमजोरी र असावधानीलाई उछालेर उनले बोकेको निष्ठा र हिंडेको सत्यको बाटो अनि भ्रस्टाचार बिरोधी अभियानलाई धुलिसाथ पार्न, केही समय भ्रमको खेतिलागाएर हिड्ने व्यक्ति स्वार्थी समुह अनि माफिया संरक्षण गर्ने राजनीतिककर्मीहरु जेहाद छोडेर लागि परेका छन् । तर आत्मा देखिनै मन, वचन र कर्मले जीवनका उर्जावान समय खर्चेका केसी अलमलमा पर्छन बाटो बिराउछ्न र गल्छन झुक्छन भन्ने मिठो भ्रम कसैले पालेको छ भने त्यो आत्मरति मात्र हो ।

केसीले जनतामा एउटा सन्देस प्रबाह गरेका छन् जसको कारण पनि जागरुक जनता भ्रस्टाचार गर्ने जो कोहीको बर्खिलाफमा सतिसाल झैँ उभिन्छन । दिवा सपना देख्न पाइन्छ बिउँझेपछी थाह हुन्छ वास्तविकता के कस्तो हुन्छ भनेर । अहिले मिडियाको सानो हिस्सा जसलाई भ्रस्टाचारीहरुको टाटनोको हरियो घाँसले लोभ्याएको छ त्यो स्वार्थी समुह तप्का डाक्टर केसीको चरित्र हत्या गरेर ‘फेक दस्ताबेज’ बनाएर भ्रस्टाचार बिरोधी अभियानको सर्मनाक हारको लागि आफ्नो विवेक बेच्दै छ । आफ्नो सन्तति देश र रास्ट्रको भविष्य अन्धकार बनाउने गोटी बन्दैछ ।

दुर्भाग्य त्यो पंक्ति आफ्नै भाग्यमाथि एक छाक भात र केहि सय हजार रुपैंयाँका लागि बन्चरो चलाउँदैछ कलमको माध्यमबाट । एउटा झुट लुकाउन हजारौं झुटको साहारा खोज्न लागि परेका छन् । केसीले आफ्नो असावधानी र प्राबिधिक त्रुटिको कारण अब समीक्षात्मक बनेर सोच्नुपर्ने बेला हो यो । डाक्टर केसीलाई उनका समर्थक र शुभचिन्तकलाई म एउटा सुझाव दिन चाहन्छु (म स्वयं केसी अभियानमा संलग्न छु) डाक्टर केसीलाई भगवान बनाउने एउटा समुह छ । डाक्टर केसी भगवान बन्ने पथमा लाग्नु हुँदैन । पक्कै पनि त्यो समुहसंग आफ्नो निहित उदेश्य र स्वार्थ पनि छ डाक्टर केसीलाई सघाउन बिभिन्न स्वार्थ बोकेर बिभिन्न थरिका मान्छे आएका छन र हुन्छन ।

आफ्नो स्वार्थमा ठेस नलागुन्जेल तिनीहरु सहयोगी बन्छन र नजिक बस्छन जब तिनीहरुको स्वार्थमा पनि ठेस लाग्न थाल्छ अनि तिनीहरुकै सबैभन्दा बढि विरोधी बनेर निस्कन्छन अनि डाक्टर केसीको मानवीय कमजोरीलाई पहाड बनाएर जनमासमा भ्रम दिन पुग्छन । यस्ता स्वार्थी समुह र तिनको घेराबाट डाक्टर केसी बच्नुपर्छ । आफ्नो आन्तरिक अभिस्ट पुरा गर्न डाक्टरहरुकै अनेकौ नामको संघ बनाएर, पदाधिकारी बनेर देखावटी नाटक गर्नेहरु अनि त्यो सत्याग्रहलाई पहुँच बनाउने , बढाउने, व्यक्तिगत प्लेटफार्म बनाएर स्वार्थको सेल पकाउनेबाट पनि त्यो अभियानमा लाग्ने, साच्चीकै देशको लागि सोच्नेले बच्नु आवश्यक छ ।

समग्र देश सामान्य मान्छे देखि बुद्ध प्रवुद्ध बर्ग हरेक तह र तप्काले के बुझ्नु जरुरी र बहस चलाउनु आवश्यक छ भने सबै मेडिकल संचालक अनि सबै केसी आन्दोलनका मान्छे दुधले धोएका चोखा मात्र छैनन् । सबै मेडिकल संचालक माफिया होइनन र हुन् सक्तैनन् । सबै भ्रस्टाचार गर्ने र सबै देशघाती होइनन । सेवा र धर्म अनि देशभक्तिको लागि केही गरौं भन्ने पनि छन् । दुवैतर्फ सकारात्मक नकारात्मक पात्र र प्रवृतिहरु छन् ,अनि केसी अभियानकर्मी सबै डाक्टर केसी झैँ साधु र निष्ठावान होइनन हुन् सक्तैनन् ।

सामान्य असावधानीको कारण केसी त्रुटीमा छन् । चारित्रिक प्रमाणपत्र र नागरकिताको मितिको बारेमा । तर आफुलाई चुकाउने र झुकाउने कर्ममा छैनन् । प्राबधिक त्रुटिबाट कुनै लाभ र फाइदाको पदमा पुग्ने ,टिक्ने र सेवा अबधि लम्ब्याउने उनको कुनै अभिस्ट प्रयास र लगाव बोल्दैनन् । दस्ताबेजले तथापि छानबिन गरी सत्य बाहिर ल्याउन र कारवाहीको दायरामा ल्याएर डाक्टर केसीलाई सजायको भागीदार नबनाउने किन ?

(लेखक डाक्टर केसी अभियानका अभियानकर्मी हुन्)