८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पाँचथरमा अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुरु


0
Shares

जितेन्द्र भण्डारी/ईमेज
पाँचथर, फागुन ५ । पाँचथरको याङ्वरक गाउँपालिकाले अनलाइनमार्फत् व्यक्तिगत घटना दर्ता गर्न थालेको छ ।

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता सुरु गर्ने यो गाउँपालिका जिल्लामै पहिलो र मुलुकको सातौं गाउँपालिका बनेको छ ।

सूचना प्रविधिको प्रयोग ब्यापक रुपमा बढ्दै गएपछि पाँचथरको याङवरक गाउँपालिकाले अनलाइनमार्फत् व्यक्तिगत घटना दर्ता सुरु गरेको छ ।

मुलुकका केही गाउँपालिकाले मात्र अनलाइनमार्फत् व्यक्तिगत घटना दर्ता गर्ने गरेका छन् ।

याङ्वरक गाउँपालिका अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्ने जिल्लाकै पहिलो स्थानीय तह पनि भएको छ ।

गाउँपालिकाको कार्यालयमा हालै गरिएको कार्यक्रममा अनलाइनको उद्घाटन गरियो ।

गाउँपालिकाका सबै वडामा यसअघिबाटै जन्म, मृत्यु, बसाईसराई, विवाहलगायतका व्यक्तिगत घटना दर्ता दर्ता गर्न सुरु गरिएको र यसलाई कार्यक्रममार्फत् औपचारिकता दिइएको गाउँपालिकाले जनाएको छ ।

कागजमा गरिने घटना दर्ता नष्ट भएर जाने, भाषिक अशुद्धता हुने, खोजेका बेला त्यस्ता कागजात नभेटिनेलगायतका समस्या हुने भए पनि अब अनलाइनबाट घटना दर्ता गर्न सहज भएको गाउँपालिका कार्यालयका कम्प्युटर अपरेटर गणेश खतिवडाले बताए ।

गाउँपालिकाले शुरु गरेको अनलाइनमार्फत् घटना दर्ताको कामलाई निरन्तरता दिइने र यसमा सुधारसमेत गर्दै लैजाने गाउँपालिकाकी उपाध्यक्ष कमला योङहाङले बताइन् ।

याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेले अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्दा तथ्यांक संकलनमा सहज भएको बताए ।

गाउँपालिकाले व्यक्तिगत घटना अनलाइनबाट दर्ता सुरु गरेपछि तथ्थांक संकलनमा सहज त भएको छ तर इन्टरनेट सञ्चालनमा भने पटकपटक समस्या आउने गरेकाले गाउँपालिकालाई यसको व्यवस्थापन गर्न भने चुनौती देखिएको छ ।