
जलकुम्भी झार र फोहोरसमेत निकाल्न मिल्ने मेसिन १ करोड २५ लाख रुपौयाँको लागतमा ल्याइएको हो ।
प्रतिनिधिसभाका निर्वाचित सांसद रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत् उपलब्ध गराएको ५० लाख र पोखरा–लेखनाथ महानगरपालिकाको ७५ लाख सहयोगमा ल्याइएको हो ।
सांसद अधिकारी र पोखरा–लेखनाथ महानगरका प्रमुख मानबहादुर जिसीले बिहीबार संयुक्तरुपमा मेसिन चलाएर तालबाट जलकुम्भी झार निकाल्ने कार्यको सुरुआत गरे ।
त्यसक्रममा सांसद अधिकारीले फेवातालको संरक्षण गर्ने अरु योजनाहरु पनि बनाउनुपर्ने भन्दै तालको मुहानमा रहेका हर्पन र खहरेखोलाबाट आउने माटो रोक्नका लागि ड्याम बनाउनुपर्ने बताए ।
महानगर प्रमुख जिसीले ताल संरक्षणका लागि मेसिन उपयुक्त भएको भन्दै यसको सन्चालन पनि महानगरपालिकाले नै गर्ने बताए ।
मेसिनले तालको ६ फिट तलसम्मको झार काटेर निकाल्न मिल्ने जनाइएको छ ।
जलकुम्भी झार निकाल्न क्यानडाबाट ‘एक्वाइटिक प्लान्ट हार्भेस्टिङ’ मेसिन ल्याइएको हो । मिट ग्रुप प्रालिले ल्याएको सो मेसिनको तौल २ टन छ । ३६ फिट लम्बाइ र ८.५ फिट चौडाइ भएको मेसिनले एकपटकमा २ टनसम्म झार निकाल्नसक्छ ।
फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गर्ने र त्यसबाट कम्पोस्ट मल बनाउने योजना महानगरपालिकाको छ ।
वि.सं. २०१७ सालमा ९८४ हेक्टर क्षेत्रफलमा फैलिएको फेवाताल २०५५ सालमा आइपुग्दा ४४३ हेक्टरमा सीमित हुन पुगेको तथ्यांक छ ।
कास्कीमा फेवातालसहित ९ ओटा ताल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्