
जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश गर्यो भने थाहा पाउने ‘सेक्युरिटी सिस्टम’ नामको यन्त्र आविष्कार गरेका हुन् ।
हाल दाङको पद्मोदय नमुना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत् ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उनको निकै चर्चा चलिरहेको छ । ओलीले योसँगै अन्य विभिन्न ३० ओटा उपकरण पनि बनाएको बताए ।
उनले बनाएका केही उपकरण बिक्रीका लागिसमेत बजारमा आइसकेका छन् । ‘मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो’–उनले भने–‘यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ । कोठामा कोही प्रवेश गर्यो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ ।’
सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उनले बताए ।
रातिको समयमा पसल, घर, कार्यालयलगायतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले उपकरण तयार पारेको ओलीको भनाइ छ ।
यसलाई थप व्यवस्थित बनाउन निरन्तर मिहेनत गरिरहेको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस्