१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


प्रदेश–२ का प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट, मर्यादापालकलाई सफारी सुट


0
Shares

प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थिति र प्रदेशसभाका ज्येष्ठ सदस्य लगनलाल चौधरीको अध्यक्षतामा भएको सो बैठकमा मर्यादापालक र प्रदेशसभा सदस्यको पोसाक, भाषा, सिट निर्धारण, अध्यक्षमन्डलको मनोनयन, अन्तरिम कार्यविधि, दर्शक र विशेष पास, नियमावली मस्यौदा समिति गठन, कार्यव्यवस्था परामर्श, सभामुखको निर्वाचन, परिचयपत्र र प्रतीकचिह्नलगायत विषयमा छलफल भएको थियो ।

संघीय संसद सचिवालयबाट प्रदेशसभालाई व्यवस्थित र सहयोग गर्न यहाँ आएका टोलीका नेतृत्वकर्ता वंशीराज पौडेलले बैठकले प्रदेशसभा सदस्यलाई कलेजी रङको कोट, बन्डी वा प्रदेशको मौलिक पहिरन र मर्यादापालकलाई सफारी सुट निर्धारण गरेको जानकारी दिए ।

सरकारबाट प्रदेशसभाका लागि खटाइएका ३८ कर्मचारी नआएका कारण तत्काल स्थानीय कर्मचारीलाई नै प्रशिक्षित गरी प्रदेशसभा सन्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रदेशसभा कार्यसन्चालन अन्तरिम कार्यविधि, २०७४ को मस्यौदा विस्तृत् अध्ययन गरी अर्को सर्वदलीय बैठकमा प्रस्तुत् गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा दलका प्रतिनिधि र प्रदेशसभा सदस्यकोसमेत सहभागिता थियो । कार्यसूचीलाई अन्तिम रूप दिन अर्को सर्वदलीय बैठक यही माघ २० गते बस्ने जनाइएको छ । रासस