२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025


प्रदेश–४ मा तीन मन्त्रालय स्थापना (७ तस्वीर)


0
Shares

प्रदेशका प्रमुखसचिव लक्ष्मण अर्यालले पदबहाली गरेलगत्तै बिहीबारदेखि ३ तीनओटा मन्त्रालयको काम सुरु भएको हो ।

सीप विकास प्रशिक्षण केन्द्रको नवनिर्मित भवनका केही कोठामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा योजना र कानुन मन्त्रालय स्थापना गरी काम सन्चालन गरिएको छ ।

बिहीबारै राजनीतिक दलका नेता तथा केही सांसदहरुलेसमेत प्रस्तावित मन्त्रालयको कार्यालय अवलोकन गरेका छन् । उक्त भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत रहेको छ ।

यसैगरी, हालको क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयमा सामाजिक विकास मन्त्रालय, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राखिने भएको छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार विकास मन्त्रालय र वन कार्यालयको निर्माणाधीन भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने प्रस्ताव गरिएको र तिनैमा अन्तिम रुप दिन लागेको प्रमुखसचिव अर्यालले बताए ।

उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्रशासनिकलगायत आवश्यक काम–कारबाही बिहीबारैदेखि सुरु भएको बताए ।

उनले भने–‘मन्त्रालय संचालनका लागि आवश्यक काम र प्रदेशसभाका लागि चाहिने सम्पूर्ण तयारी माघ २० सम्म पूरा गरिनेछ ।’

प्रदेशसभा बैठकस्थलको भौतिक पूर्वाधारलगायत अरु संरचनाबारे धमाधम काम भइरहेको छ ।

पहिलो बैठकको तयारी, त्यसअघि सर्वदलीय बैठकलगायत प्रक्रिया सुरु गरेर संसद सचिवालयमा खटिने कर्मचारीलाई बैठक सन्चालनसम्बन्धी आवश्यक अभिमुखीकरण दिने कार्यक्रम रहेको छ ।

सरकारले प्रदेशसभामा तत्कालका लागि २७ कर्मचारी खटाएको थियो । त्यसमा चारजनाको सहजीकरण टोलीमात्रै पोखरामा आएको छ । अरु कर्मचारी आएका छैनन् ।

पहिलो बैठकमा के हुन्छ ?
प्रदेश–४ को प्रदेशसभाको ऐतिहासिक पहिलो बैठक माघ २२ गते सुरु हुँदैछ ।

बैठकमा प्रदेशप्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गरिएको पत्र पढेर सुनाइनेछ । त्यसपछि दलका प्रतिनिधिको मन्तव्य रहनेछ ।

यसका लागि कतिजना बोल्ने, कति समय बोल्ने भन्ने बैठकअघि नै सर्वदलीय बैठकमार्फत् टुंगो लगाइनेछ ।

पहिलो बैठकले प्रदेशसभाको अन्तरिम कार्यविधि पारित गर्नेछ । तत्काल प्रदेशसभा सन्चालनका लागि नियमावली पारित नहुने अवस्था रहेकाले अन्तरिम कार्यविधिको ड्राफ्ट तयार पारी छलफल गरिनेछ ।

साथै, बैठकका अध्यक्षको अनुपस्थितिमा बैठकलाई निरन्तर सन्चालनकालागि एक अध्यक्षमन्डलकोसमेत पहिलो बैठकले मनोनयन गर्नेछ ।

पहिलो बैठकमा सभामुख, उपसभामुखको निर्वाचन मिति सम्बन्धमा छलफलसमेत हुने सहजीकरण टोलीका उपसचिव गोपाल सिग्देलले बताए ।

५५ जना मर्यादापालक
यसैबीच, प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक खटिनेछन् । साथै, सभास्थलबाहिर २५ जना सुरक्षाकर्मी खटिने जनाइएको छ ।