९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नवराज सिलवाललाई खुल्ला पत्र


0
Shares

-संजिव कार्की:
श्रीमान् पूर्व प्रहरीअतिरिक्त महानिरीक्षक
नवराज सिलवाल ज्यू,
प्रतिनिधिसभा सदस्य ललितपुर,क्षेत्र नं १

तपाईलाई जब तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको ( कांग्रेससँग हल बाधेको) सरकारले प्रहरी प्रमुख बन्न नदिएर अपमानित गर्‍यो त्यसको बदला तपाई राजीनामा दिएर जसरी प्रहरी सेवा छोडेर बाहिर आउनु भयो त्यतिबेला थोरैले मात्र सरकारको प्रतिरक्षा गरे । धेरैले तपाईको पक्षमा आवाज बुलुन्द गरे । सडकमा बोले, सदनमा बोले , सार्वजनिक मन्चमा बोले । संचार माध्यममा लेखे, सामाजिक संजालको भित्तो भरे । सरकार बाहिरबाट सत्तासिन दलहरु तिनका समर्थक, बिपक्षी पार्टी प्रवुद्ध वर्ग , सामान्य मान्छे सबैले सिलवाललाई अन्याय भयो एउटा काबिल पुलिस अफिसर अन्यायमा पर्यो भनेर कराए । चिच्याएर बिरोध गरे । सरकारको आलोचना गरे । सरकारको कदमप्रति तिब्र रोष अनि असहमति प्रकट गरे । मानौ सिंगो देश नै तपाईको पक्षमा उर्लियो, एक ढिक्का भयो यो तपाई माथि अन्याय भयो भन्ने लागेर भएको थियो यो आवाज जनताको तागत तपाई विधिको पक्षमा हुनुहुन्छ भनेर घन्केको हो । बिधि र परिपाटी हार्नु हुन्न भन्ने बल हो तागत हो भलै अदालतले तपाईलाई न्याय दिन सकेन तर जनता तपाईप्रति शाहानुभूतिशील नै देखिए । अझैसम्म छन् पनि तर जनता अब जति हिजो तपाई प्रति शाहानुभुतिशील थिए त्यति आज छैनन् शंकाको दृस्टीबाट अब अछुतो रहन सक्नुभएन । सरकारले अन्याय गर्‍यो । अदालतले अन्याय गर्‍य अब म जनतामा जान्छु भनेर एमाले पार्टी मार्फत तपाई जनतामा जानु भयो । जनताबाट तपाई अनुमोदित पनि बन्नु भयो र ललितपुरबाट प्रतिनिधिसभा सदस्य पनि निर्वाचित हुनुभयो । जनता खुशी भए र पुरस्कृत गर्न सकेकोमा धन्य बने सम्झे तर तपाई केका लागि जित्नु भएको थियो त्यसको जबाफ जनताले यसरी पाउदै छन् मानौ तपाई एउटा ठुलै अपराधी हो । जनताले तपाईलाई विश्वास गरेको एक इमान्दार ,कर्तब्यनिस्ठ, कानुनको परिपालक र क्षमतावान प्रहरी अधिकारी भनेर हो । बिडम्बना तपाई आज प्रहरीदेखि आफै भाग्दै हुनुहुन्छ ? प्रहरी तपाईको खोजीमा छ तर भेट्टाउन सकेको छैन । जनता भ्रम, अन्योल र अन्यमनस्क छन् यो कसरी भयो ? नबिराउनु नडराउनु भन्छन, नबिराउनेहरु डराउदैनन, भाग्दैनन् कानुनको परिपालन गराएर यतिका वर्ष देशको सेवामा बिताउनु भएको तपाई आज किन भागी भागी हिड्नु हुन्छ ? लुकी लुकी हिड्नु पर्ने त्यस्तो जघन्य अपराध के गर्नु भयो सर ?

जनतालाई लागेको थियो आफु अन्यायमा परेको मान्छेले न अन्याय सहन्छ ? न अन्याय गर्छ न अन्यायसँग डराउछ ? हामीलाई लागेको थियो तपाई राजनीतिमा भएको फोहोर सोहोर्न आउनुभएको हो , राजनीतिमा देखिएको असमानता हटाउन आउनु भएको हो । राजनीतिमा थुप्रिएको कुँडा, कर्कट मिल्काउन आउनुभएको हो । असमानता र बेथितिलाई जरैदेखि उखेल्न आउनुभएको हो । समाजलाई सहि दिशा निर्देशन गर्न आउनुभएको हो । तपाई राजनीतिमा आउँदा तपाईलाई अन्याय पर्दा जुन सकारात्मक तरंग र सामाजिक मनोविज्ञान पैदा भएको थियो आज ठिक उल्टो देखिदा मन दुख्दोरहेछ सर । आशामा निराशाको घनघोर कालो बादल देखियो सर । तपाइले रोजेको राजनीतिको बाटोबाट घृणा, प्रतिसोध र बदलाको भाव हैन समता ,न्याय, बिधि ,कानुनको परिपालन र असल नियमन जनताको अपेक्षा हो खै सर ?

नियम तपाईले मान्नु पर्दैन भने अरुले चै किन मान्नु ? अगुवा नै अग्राही र पूर्वाग्रही भएर लुकिछिपी फोहोर बाटो हिडेपछि पछुवा र अनुयायीहरु सहि र सद्दे मार्ग रोज्लान र ? गलत नै मनशायले लगाएको अभियोग र आरोप भए पनि असल र समाजको प्रतिष्ठा बोकेको मान्छेले त्यसको सालिन प्रतिवाद र आफुलाई निर्दोष प्रमाणित गराउनु नै कानुनीरुपमा ठिक र सामाजिक र नैतिकरुपमा सभ्य र अनुकरणीय कार्य होइन र ? हामीलाई पनि थाह छ प्रायजसो शक्ति र शासनमा रहनेहरु कानुनको स्वेच्छाचारी प्रयोग गर्न उद्दत रहन्छन । स्वयं अदालत पनि कानुनको नाममा ज्यादती गर्न तम्सन्छ तर आरोप लागेपछि असल मान्छे जुनसुकै असल मनशाय भए पनि भाग्नु हुदैन छलिनु हुदैन ।

हेनरी डेबिड थोरोले भनेको कतै पढेको थिए “यदि सरकारले गलत गरिरहेको छ भने एउटा सच्चा नागरिकको उपर्युक्त वासस्थल जेल हो ‘ असल उदेश्य र असल कर्मको लागि जेल जानु बेइज्ज तर लाजमर्दो कुरा होइन सर । जुनकुरा यहालाई थाहा नहुने कुरै भएन । यहाँले धेरैलाई जेलको चिसोमा कोच्नु भयो कति अपराधी थिए कति असल मान्छे र देशको लागि जेल परेका पनि थिए असलहरुलाई त स्वयं यहाले सम्मान पुर्वक सलाम नै गर्नु भयो कतिलाई पछि जेलमुक्त भएपछि सलाम गर्ने सौभाग्य प्राप्त गर्नु भयो त्यसैले सिलवालसाप जेल पर्नु आरोप लाग्नु अनि अभियोग लाग्नु मात्रै कुनै अपराध हो र ? जेल पर्दा लज्जाबोध त्यतिबेला हुन्छ जतिबेला अपराध गरिन्छ कुकर्म गरिन्छ । सज्जन इमान र जमानमा विश्वास गर्नेहरु आरोप देखि तर्सदैनन् सर ।

दमन र प्रतिसोध अनि बदलाको भाव तपाई माथि पर्‍यो भने त्यसको विरुद्द बिद्रोह र मुकाबिला गर्न न्यायप्रेमी जनता आफ्नो हक सधै सुरक्षित राखेर नै बसेका हुन्छन किन डराउनु हुन्छ सर ? कानुनि झामेलासंग ? तपाई कानुन बुझेको मान्छे ,कानुन परिपालन गराएर कपाल फुलाएको मान्छे यसरी कानुन सँग डराउनु हुन्छ भने न्यायको नौ सिंग नदेखेका सर्वसाधारण जनताको हालत के होला सर ? कानुनलाई कानुनको टालो बेरेर कानुनको लाज ढाकीदिनु पर्ने चै गरिब असाहय, निमुखा र निरिह निम्न वर्गका मान्छेको मात्र काम हो सर ? कानुन सबैका लागि हो भने तपाई कोसँग र किन काम्नु भएको सर ?

प्रहरी सेवामा प्रवेश गरेदेखि डीआइजी रहदाँसम्म (स्वेच्छाले राजिनामा दिएर) जनताको नजरमा तपाईको छवि एकदम सबल सक्षम र लोकप्रिय प्रहरी हाकिमको रुपमा चिनिन्छ , जनताको नजरमा प्रिय हुनुहुन्थ्यो भलै तपाईको नाम सुनतस्करी प्रकरणमा श्रीमतीलाई सुराकी बनाएर पुरस्कृत गरेको देखि चर्को मिटर ब्याजमा पैसा लगाउने आरोप र प्रतिसोधि व्यक्तिको रुपमा मुछिएको भए पनि सबै लान्छना सत्य र प्रमाणित हुन्छन भन्ने छैन । आरोप लाग्नु दोषी नै हुनुहोइन । नाम मुछिदैमा , बिभिन्न प्रकरणमा नाम जोडिदैमा कोहि आत्तीहाल्नु पर्दैन । सत्यतथ्य अहिले पनि आरोप लागेर सोधपुछको लागि बोलाएको मात्र न हो । तपाईलाई लागेको किर्ते प्रकरणमा दुनियाँलाई पनि चित्त नबुझेको, बिभिन्न संचारमाध्यममा आएका कुरा र लोकसेवा जस्तो संबैधानिक आयोगको लापरबाही र गैरजिम्मेवारपूर्ण कुराले तपाई तानिनु भएको कासमु (कार्य सम्पादन मुल्यांकन) किर्ते सन्दर्भमा सबैको ध्यान आकृस्ट भएको छ । यो प्रकरणमा लोकसेवा आयोगमा उनीहरुसँग रहेको आइजिपी तीनजना प्रतिस्पर्धीहरुको कासमु फाइल माग गरेकोमा पहिलोपटक छैन र आफुसँग तीन वर्षको मध्ये पछिल्लो र अन्तिम वर्षको आफुसंग नरहेको भनि लोकसेवा आयोगले पत्राचार गरेकोमा दोस्रोपटक पून मुद्दा पर्दा पहिलोपटक छैन भनेको कासमु पाइयो भनेर अदालत पठाउनुले गम्भीर आशंका उत्पन्न गराएको छ । लोकसेवा जस्तो संबैधानिक निकायले आफूले सुरक्षित राख्नुपर्ने कागत पत्र पहिले छैन भन्नु र पछि विवादित देखिएपछि पाइयो भन्दै अदालतमा पठाउनुले लोकसेवाको विस्वसनियता कमजोर भयो ।

सिलवाल सर,

किर्ते प्रकरणको किचलो नियोजित ,सुनियोजित , प्रयोजित र स्वाभाविक जे भए पनि झन् जटिल र पेचिलो बन्यो । लोकसेवा जस्तो संबैधानिक निकाय किन यति अल्काचा र केटौले देखियो । यसको पनि विश्वसनियतामा अब गम्भीरताका साथ् सोच्नु र समस्या उजागर गर्नुपर्ने बेला आएको छ । कानुन, विधिसम्मत ,न्याय सम्मत हुनुपर्छ, आग्रही पूर्वाग्रही र स्वच्छेछारी हुनुहुदैन , कानुनले आशु देखेर रोदन बुझेर र शाहानुभूतिशील हुन् मिल्दैन अनि शक्ति सामर्थ्य र डर धम्कीमा प्रभावित हुन् पनि सुहाउँदैन । कानुन प्रहरीको उच्च अधिकारी अनि साधारण सिपाही सबैको लागि बराबर हो हुनुपर्छ । रास्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई एउटा र सामान्य नागरिकलाई अर्को हुँदैन तसर्थ सिलवाल सर तपाई कानुनी रुपमा आरोपित भएपछि कानुनबाट भागेर, बचेर पाइने उन्मुक्ति नखोज्नुस ।

तपाईले गलत गर्नुभएको छैन भने तपाई पूर्वाग्रह बस दोषी बनाइए पनि सत्यको आखामा निर्दोष हुनसक्नु हुन्छ न्याय ढिलो होला तर सत्यले हार्दैन सर । देशले नै राम्रो मानेको गिनेचुनेको व्यक्ति, जनताको नजरमा आखाको नानितुल्य पूर्व प्रहरी उच्चाधिकारी किन कानुनको बर्खिलाप जान चाहनुहुन्छ ? तपाइलाई किन छलिनु छेकिनु र तर्किनु अनि आफ्नो अनुकूलतामा मात्र प्रकट हुनु पर्‍यो ? सिलवाल सर तपाइले यत्रो बर्ष लगाएर प्रशिक्षित गरेको प्रहरीले भेट्ने भनेको नभाग्ने ,न लुक्ने र नछलिने अनि कानुनको दायरामा सजिलै आउन चाहने मान्छेलाई मात्र हो ? भेट्ने पक्रने, सिलवाल सर तपाईको पक्ष र विपक्ष समर्थन र विरोधमा जे जे कुप्रचार र कुतर्क गरिन्छ ति सबै अतिशोयोक्तिपूर्ण छन् देखिन्छन तर तपाई भागेर गलत संदेश प्रवाह गर्दै हुनुहुन्छ । प्लिज सर एउटा सिपाही भाग्नु हुदैन डराउनु हुदैन । मारिने र गायब परिने स्थिति भए छलिएर बच्नु भाग्नु अस्वाभाविक थिएन र कसैले मान्दैन पनि तर सहज वातावरणमा यो अनर्थ हो शंका र विस्मयको स्थिति हो ।

सिलवाल साब !

देशभर प्रहरी परिचालन गर्दा पनि तपाई नभेटिएपछि प्रहरी प्रधान कार्यालयको आग्रहमा इन्टरपोललेडीफ्युजन नोटिस जारी गरेको खबरले दुःखी तुल्याएको छ । एउटा पूर्व प्रहरी हाकिम ,सपथग्रहण गर्न बाँकी रहेको संसद सदस्य, अब १९२ देशको निगरानीमा रहनु फेलापारे भने नेपाल प्रहरीलाई बुझाइदिने अन्तर्राष्ट्रिय कानुनी फन्दामा पर्ने परिस्थिति निश्चयनै हाम्रा लागि तपाईका लागि पीडादायी र शरमलाग्ने कुरा भयो । उच्च अनुशासन र कठोर परिक्षणमा आफ्नो ब्यबसायिक क्षमता र जीवन गुजारेको प्रहरी हाकिम आज किन लाज पचाएर लुक्ने भाग्ने खेलमा लाग्नु भयो ? राजनीतिमा लाग्नेको लाजसरम प्राय पचेको हुन्छ भन्छन त्यति अनुसाशित मान्छे आज कसरी र कति छिटै लाज हराउन पुग्नुभयो ? राजनितीले तपाईलाई सिकाएको यहि हो त ? कस्तो दुखद संयोग । दिपक मनांगे र तपाई एकैपटक लाइन लागेर एमाले प्रवेस गर्नु कमरेडी हस्त मिलन र अंकमाल गर्नुभयो । दुवैले जनप्रतिनिधि बन्ने अवसर पनि प्राप्त गर्नु भयो आज कस्तो विधिको बिडम्बना हिजो आफूले डन्डी लगाएर जेलमा खादेको मान्छे र स्वयं आफु कसुरदार बनेर फरार अभियुक्तको दर्जा लिनु भयो ? दुःख लाग्छ सिलवाल सर मनाङ्गे र तपाई आज नियतिको उस्तै खेलमा एकैचोटी फरार भएर संगै लुकेको सुन्दा !

सिलवाल सर,
एक हप्ता पहिले बिदेशमा आफु भएको र आफु विरुद्ध भागेको भनी अनर्गल प्रचार भएको तर आफु नभाग्ने बरु अनुसन्धानलाई सघाउन तयार छु भनि संचार माध्यममा आएको थियो । फेरी केहिदिन पहिले आफु आफ्नै निर्वाचन क्षेत्र ललितपुरमा जनताको माझमा रहेको भनेर भाइवर मार्फत अन्तर्वार्ता दिएको कुरा पनि बाहिएर आएको थियो तर सारा देशभरी प्रहरीले खोज्दा पनि नभेटिने गरी कुन पाताल पुग्नु भयो ? आफ्नो सम्पूर्ण उर्जाशील र महत्वपूर्ण समय खर्चेको प्रहरी कार्यलयको सोधपुछसँग लुक्नुपर्ने किन भयो सर ?

सिलवाल सर,

म अतितको एउटा घटना स्मरण गराएर मेरो चिठी टुंग्याउन लाग्दैछु । तपाई एक पटक तपाईको पार्टीका नेता बामदेव गौतमसँग सोध्नुहोला बामदेवले प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेललाई हटाएर किन प्रहरी आइजिपी बनाउने प्रहरी संयन्त्रलाई खलबल पार्ने र सधै आइजिपीको प्रतिस्पर्धात्मक स्थितिलाई हिलोमैलो तुल्याए ? बामदेवले शुरु गरेको यो आध्याय सधै सधै हरेक आइजीपी नियुक्तिको बेला र समग्र प्रहरी संगठन बदनाम गर्ने शुरुको कडी भयो जुन निरन्तर तपार्इको पालासम्म कायम रह्यो । जुन खेदजनक घृणित कुकर्म हो । जो जसले गरे ति सबै अपराधी हुन् । जसको सजाय नेपाली जनताले भोग्नु पर्‍यो । अब उपरान्त कसैले पनि प्रहरी संगठन मात्र होइन राष्ट्र सेवा गर्ने जुनसुकै सेवा र क्षेत्र पनि कसैको कुकर्मको खेलो नबनोस् । समग्र देशको सेवा मुलक क्षेत्रको जवाफदेहिता , व्यावसायिकता अनि निस्पक्ष र स्वतन्त्र कार्यसम्पादन अनि कार्यकुशलता विवादरहित बढुवा पदस्थापन, उचित दण्ड पुरस्कार र सुकुमार कानुनी प्रबन्ध देश र जनताको चाहना हो ।

सिलवाल साब,

जनता तपाईमाथि लागेको आरोप अझै पनि मिथ्या होस् भन्ने चाहन्छन सर । प्रहरी अनुसन्धानलाई सहयोग गरेर एक कर्तब्यनिष्ट प्रहरी हाकिम र सुयोग्य जनप्रतिनिधि बन्नु पर्ने बेलामा किन फरार अभियुक्त हुन मन्जुर गर्नुभयो । हिजो भन्नु हुन्थ्यो ‘म सडक बाट राज्यसँग एक्लै लडेको व्यक्ति डराएर भाग्दिन’ हिजो एक्लै हुँदा नडराउने ब्यक्त्ती आज त एक्लै हुनुहुन्न । तपाईलाई माया गर्ने जनताको एउटा पंक्ती छ , तपाइको पार्टी एमाले छ । सिंगो बाम शक्ति र सामर्थ्य छ । प्रतिनिधिसभा सदस्य निर्वाचित प्रमाणपत्र छ । भावी गृहमन्त्रीको फुली पहिलेनै लगाउनु भएको थियो छ जुन अझैपनि ? तर तपाई किन फरार अभियुक्त ?

१४ वर्ष जेल जीवन बिताएका शक्तिशाली पार्टी अध्यक्ष केपी ओली जो देशको कार्यकारी अधिकार हातमा लिदैहुनुहुन्छ उहाको दरिलो साथ् छ भने किन छालिनुभयो ? प्लिज सर आउनुस कानुनको परिपालन गरेर आफुलाई निर्दोष र दागरहित बनाएर राजनीतिको माध्यमबाट देशको सेवा गर्नुस । सिलवाल साब तपाई आफ्नो मर्यादाको खातिर,आफ्नो पार्टी नेकपा एमालेको खातिर कानुनी राज्यको मर्यादाको खातिर आफै हाजिर हुनुहोस सिपाहीले भाग्नु कायरता हो । निर्दोषले भाग्नु हुँदैन सर तपाइको हकमा भाग्ने कुरा पटक्कै सुहाउन्न । बिधि र प्रक्रियाको पक्षपाती मान्छे भाग्ने हो भने अरुले के गर्लान ? तपाई त् गहिरो साहित्यिक मन भएको साहित्य व्यक्तित्व पनि हो तपाईले जनताको चाह र मन मस्तिष्क बुझेको हुनुहुन्छ ।

सिलवाल सर,

मेरा अपेक्षा, आग्रह, सन्देह र खवरदारी मेरा लागि हो, तपाईका लागि हो, देशको शुसासन, असल संस्कार र सभ्य समाजको लागि हो । बेथिति र कानुनी राजको उपेक्षाको शिकार जोकोही हुनुहुन्न नियम जोकोहीलाई पनि हो कानुनका अघि हामी कोहि असमान छैनौ । यो देश तपाई हामी सबै मिलेर बनाउने हो । छिट्टै आएर आफ्नो सफाई पेश गरी असल जनप्रतिनिधि बनेर गृहमन्त्री बन्नुस सर । शुभकामना । तपाईको आगामी दिनको सुकर्म लेख्ने उत्कट अभिलाषा राख्दै बिदा मागे ।
उही तपाईको भलो चाहने
संजिव कार्की