
प्रतीक्षा खनाल, सानु माली र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, मंसिर २५ । सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई देवकोटा स्मृति संग्रहालयकारुपमा विकास गर्ने निर्णय गरेको छ ।
तर, महाकवि देवकोटाका निजी सामानहरुको संख्या थोरै रहेकाले संग्रहालयमा कस्ता–कस्ता सामग्री राखिन्छ भन्ने भने चासोको विषय बनेको छ ।
कुनैबेला महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्पूर्ण परिवार बसेको मैतीदेवीस्थित उनको निवास अहिले खन्डहरमा परिणत भएको छ ।
देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका सामान जीर्ण घरको एउटा कोठामा यत्तिकै थन्काइ राखिएको छ ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाले छाडेर गएका चिनोहरुको यस्तो हविगत हुनु विडम्बनाकै विषय हो ।
महाकवि देवकोटाले प्रयोग गरेको पलङ, टेबल, कुर्सी, उनका केही किताब र तस्वीरहरु सोही घरको एउटा कोठामा राखिएको छ ।
उनले प्रयोग गरेका अधिकांश वस्तुहरु संरक्षणको अभावमा नस्ट भइसके भने बाँकी रहेका केही सामानहरु पनि बिग्रिएको अवस्था रहेको महाकवि देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमालले जानकारी दिइन् ।
मैतीदेवीको घरमा देवकोटाको परिवारले २००४ सालदेखि बसोबास गर्न थालेको हो । त्यसअघि भने उनी डिल्लीबजारस्थित जन्मघरमा बसोबास गर्दै आएका थिए ।
त्यही घरबाट उनका साहित्य रचनाहरुले झांगिन सुरु गरेका थिए । महाकविले विवाह गरेर पत्नीलाई पनि त्यसैघरमा भित्र्याएका थिए ।
देशका विभूतिहरुको नाममा संग्रहालय स्थापना गरी उनीहरुसँग सम्बन्धित सामग्री संरक्षण गर्नु राज्यको दायित्व हो ।
यस्ता ऐतिहासिक दस्तावेज नयाँ पुस्ताका लागि जीवित इतिहासको साक्षी बन्ने हुँदा उचित संरक्षण र सम्बद्र्धनमा बेलैमा ध्यान जानु जरुरी हुन्छ ।
प्रतिक्रिया दिनुहोस्