
यदि तपाइँ काठमाडौं उपत्यकाबाहिर ओहोर–दोहोर गरिरहनुहुन्छ भने दशौंपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर, अब भने त्यो समस्याबाट भुक्ति पाउनुहुने भएको छ ।
चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलोपटक ८ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । ६ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो ।
सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौं उपत्यकाबाहिर सहजरुपमा ओहोर–दोहोर गर्न सकिन्छ ।
यो सडकखन्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।
उनकाअनुसार कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केही ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ ।
‘कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अन्डर पास’को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिसमार्गको काम अघि बढेको छ’–उनले भने–‘तीव्रगतिमा काम भइरहेकाले केही समयमा नै सकिनेछ ।’
चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माणकार्य सक्नुपर्ने हुन्छ ।
‘भूकम्प र नाकाबन्दीका कारण यसको निर्माणकार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरिएको थियो’–इन्जिनियर अर्यालले भने–‘अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको छ ।’
यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् ।
‘यो सडकखन्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका छन्’–उनले भने–‘हामीले मुख्य गरेर अरु निकायसँग समन्वयको काम नै गरिरहेका छौं ।’
पाइपलाइन, विद्युत्का पोल, सडकछेउका घर–टहरालगायतका कारणले गर्दा काममा भने केही ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा सडकले गर्दा फुट्ने गरेको छ ।
सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडकछेउमा घर–टहरा छन् । ‘८ लेनको सडकको बाहिर पर्ने सर्भिस सडक पर्ने ठाउँमा भएका यी घर–टहराले गर्दा काम अघि बढ्न सकेको छैन’–इन्जिनियर अर्यालले भने–‘हामीले पटक–पटक भन्दा पनि स्थानीयवासीले घर भत्काउन अटेर गरिरहेका छन् ।’
मुख्य लेन, सहायक मार्ग र सर्भिसमार्ग गरेर १० लेनको सडक निर्माण भइरहेको हो । चक्रपथ छिर्ने विभिन्न सडकहरु यो सडकखन्डमा पर्छ । यी सडकमा चक्रपथबाहिर निस्कने सडक कुन निकायले कालोपत्र गर्ने भन्ने टुंगो लागेको छैन । परियोजनासँग यी सडकमा काम गर्ने सम्झौता थिएन ।
‘यी सडक नसुुध्रँदा त्यसको असर सडक निर्माणपछि पर्नेछ’–उनले भने–‘यी सडक कच्ची हुँदा नयाँ सडकमासमेत धुलो र हिलो फैलनेछ ।’
रु एक अर्ब लगानीमा यो सडकको निर्माणकार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्