२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025


प्रदेश–४ जलस्रोत र पर्यटनमा अब्बल, यस्तो छ स्थिति (भिडियो रिपोर्ट)


0
Shares

नेपाल एकीकरणको उद्गम जिल्ला गोरखादेखि विश्वकै आकर्षक पर्यटकीय नगरी पोखरा समेटिएको कास्कीसहित ११ ओटा जिल्ला मिलेर बनेको प्रदेश नम्बर–४ हिमशृंखला, ताल, ऐतिहासिक र साँस्कृतिक सम्पदाका दृष्टिले नेपालकै धनी प्रदेश हो ।

२४ हजार ९५१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यस प्रदेशमा प्रायः सबै वर्ग, समुदाय, जातजातिको ३१ लाख बढी जनसंख्या छ ।

राष्ट्रिय योजना आयोगकाअनुसार १४ प्रतिशत गरिबी दर रहेको यस प्रदेशका जनताको आम्दानी पनि अन्यको तुलनामा बढी नै छ । यस प्रदेशका जनताको वार्षिक प्रतिव्यक्ति आम्दानी १२ सय ७७ डलर छ । मानव विकास सूचकांक पनि सबैभन्दा उच्च छ ।

माथिल्लो मुस्ताङ हुँदै चीनको केरुङ नाका र गन्डक ब्यारेज हुँदै नवलपरासीबाट भारत जोड्ने प्रदेश–४ विकासका दृष्टिले धेरै सम्भावना बोकेको प्रदेश हो ।

पर्यटन र जलविद्युत्कै माध्यमबाट प्रदेशहरुमध्ये धनी बन्नसक्ने तागत राखेको यस प्रदेशमा ८ ओटा जलविद्युत् आयोजनाहरु चालू अवस्थामा छन् ।

जसमा १४४ मेगावाटको कालीगन्डकी ‘ए’, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी, १४.८ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लोमोदी–१, ९.४ मेगावाटको आँधीखोला, ५ मेगावाटको सिउरुले, ४ मेगावाटको खुदी चालू अवस्थामा छन् ।

निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ हाइड्रोदेखि ३ नम्बर प्रदेशमासमेत पर्ने १२०० मेगावाटको बूढीगन्डकीलगायतका दर्जन बढी निर्माणाधीन एवं प्रस्तावित विद्युत् आयोजनहरु यस प्रदेशमा छन् ।

पर्यटकीय, ऐतिहासिक एवं धार्मिक क्षेत्रले पनि यस प्रदेशले आम्दानीको बलियो स्रोतकारुपमा उपयोग गर्नसक्ने देखिन्छ । त्रिवेणीधाम, देवघाट, मुक्तिनाथ, दामोदरकुन्डजस्ता धार्मिक क्षेत्र यहीँ छन् ।

पोखराका अतिरिक्त लोमान्थाङ दरबारदेखि विभिन्न गुम्बा, गुफा, मठ–मन्दिर, अन्नपूर्ण संरक्षण क्षेत्र, माथिल्लो मुस्ताङलगायतका पर्यटकीय क्षेत्रका साथै मनास्लु संरक्षण क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र ढोरपाटन शिकार आरक्षका केही भाग पनि यही प्रदेशमा पर्दछन् ।

विश्व प्रसिद्ध अन्नपूर्ण ‘राउन्ड ट्रेकिङ’ एवं हिमालपारिका जिल्ला मुस्ताङ र मनाङमात्र हैन, म्याग्दी जिल्लामा अवस्थित संसारकै सबैभन्दा गहिरो कालीगन्डकीको खोंचदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल पनि यहीँ छ ।

प्रसिद्ध फेवाताल, बेगनास तालसहितका अन्य थुप्रै तालतलैया एवं अन्नपूर्ण हिमालसँगै ७ हजार उचाईमाथिका ११ ओटा हिमशिखरहरु पनि यही प्रदेशमा छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी यिनै प्राकृतिक स्रोत र साधन नै प्रदेश–४ को सामथ्र्य रहेको बताउँछन् ।

ऐतिहासिक गोरखा दरबार, मनकामना मन्दिरदेखि पृथ्वीनारायण शाहका ऐतिहासिक दस्तावेज यहीँ छन् ।

आदिकवि भानुभक्त आचार्यको थलो, ऐतिहासिक ब्याज गुफा, पर्यटकीय क्षेत्र बन्दीपुर, प्रख्यात घलेगाउँ पनि यहीँ छन् ।

भारत र चीन जोड्ने कालीगन्डकी कोरिडोरले पनि यस प्रदेशको विकासमा सहयोग पुर्‍याउने देखिन्छ ।

भएका स्रोत र साधनको प्रयोगका लागि यस प्रदेशमा पुँजी बढाउन र बाह्य लगानी भित्र्याउन प्रदेश र स्थानीय सरकारले प्रभावकारीरुपमा काम गर्नुपर्ने व्यावसायीहरुको सुझाव छ ।

आर्थिक विकासका लागि भएका सम्भावनामाथि प्रभावकारीरुपमा काम गर्ने नेतृत्व पाउनसके प्रदेश–४ छिट्टै सबल हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्