२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


कीर्ते शेयर कारोबार गर्ने कार्यकारी प्रमुखलाई कारबाही


0
Shares

बोर्डले मंगलबार साँझ एक विज्ञप्ति प्रकाशित गरी तीन जलविद्युत् कम्पनीको कीर्ते शेयर कारोबार गर्नेलाई कारबाही गरेको जनाएको हो ।

बोर्डका अनुसार चिलिमे जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर र सानिमा माई हाइड्रो पावर कम्पनीको कीर्ते शेयर कारोबार गर्ने अग्रवाल सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सिप्रवी सेक्युरिटिजलाई कारबाही गर्ने निर्णय भएको हो ।

ती शेयर दलाल कम्पनीलाई धितोपत्र व्यवसायी÷धितोपत्र दलाल, व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार कारबाही गरिएको हो ।

विभिन्न कानून तथा नियमको उल्लंघन गर्दै चिलिमेको कीर्ते शेयर कारोबारमा संलग्न अग्रवाल सेक्युरिटिजलाई रु १० लाख ५० हजार जरिवाना गरेको छ ।

यसैगरी, नेशनल हाइड्रोको कीर्ते शेयर कारोबारमा संलग्न श्रीहरि सेक्युरिटिजलाई पनि समान रु १० लाख ५० हजार जरिवाना तोकेको छ । दुवै शेयर दलाल कम्पनीका कार्यकारी प्रमुखलाई रु ५०÷५० हजार जरिवाना गरिएको छ । बोर्डका अनुसार सिप्रवी सेक्युरिटजलाई रु ५० हजार जरिवाना गराउँदै त्यसका प्रमुखलाई सचेत गराइएको छ ।

शेयर बजारमा कीर्ते कारोबार भएको उजुरीपछि बोर्डले अनुसन्धान थालेको थियो । बोर्डले उक्त जलविद्युत् कम्पनीको कीर्ते शेयर कारोबार गरेको विषयमा छानबिन गरी गत असार २३ गते नै जिल्ला अदालत काठमाडौँमा मुद्दासमेत दायर गरिसकिएको विज्ञप्तिमा जनाएको छ ।

बोर्डले लामो अनुसन्धान तथा अध्ययनबाट नक्कली कारोबार गर्ने शेयर दलाल कम्पनीलाई कारबाही गरिएको जनाएको छ । रासस