
मंगलबारसम्म शान्तिपूर्णरुपमा भइरहेको दबाबमूलक आन्दोलन बुधबार बिहानैबाट हडतालमा परिणत गरिएको हो ।
बुधबार बिहानैदेखि डोटीका विभिन्न स्थानमा स्वतस्फूर्तरुपमा जुलुस तथा र्याली निस्किएको थियो । ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरुले सडक अवरुद्ध गरेका छन् । जसका कारण डोटीसहित अछाम र बाजुराबाट तराईका जिल्लातर्फ जाने र तराईबाट पहाड उक्लने सवारी–साधनहरु पूर्णरुपमा ठप्प रहे ।
आन्दोलनकारीहरुले बुधबार सरकारी तथा गैह्रसरकारी कार्यालय, विद्यालय, बजारसमेत खुल्न दिएनन् ।
बुधबार बिहानैदेखि दिनभर दिपायल, सिलगढी, गोपघाटलगायतका स्थानहरुमा प्रदर्शन गरियो ।
यसैबीच, संघर्ष समितिले क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा तालाबन्दीसमेत गरेको छ ।
संघर्ष समितिका संयोजक एवं डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले भने–‘अब हामी सशक्त आन्दोलनमा उत्रिन बाध्य भएका छौं ।’
प्रदर्शनकाक्रममा बुधबार केही ढुंगामुडा र तोडफोडका घटना भएका छन् ।
दिपायलमा प्रदर्शन गरिरहेको एक भीडले क्षेत्रीय प्रशासन कार्यालय र सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दिपायलमा ढुंगामुडा गरेको थियो । ढुंगामुडाबाट सो कार्यालयका केही सिसाहरु टुटफुट भएका छन् ।
प्रदर्शनकैक्रममा आन्दोलनकारीहरुले सरकार तथा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरुविरुद्धसमेत नाराबाजी गरेका थिए ।
यस्तै, सिलगढीमा आन्दोलनकारीहरुले एक मोटरसाइकलमा आगो लगाएर जलाइदिएका छन् । आन्दोलनको अवज्ञा गरेको भन्दै से१प ८८६ नम्बरको मोटरसाइकलमा आगो लगाइएको हो ।
प्रदेश राजधानीको माग गर्दै डोटीमा विगत ८ दिनदेखि आन्दोलनका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
उच्च अदालत, प्रदेशस्तरीय प्रहरी मुख्यालय, रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयलगायतका निकायहरु स्थापना भइसकेको, राणाकालमा देशका चार गौणामध्ये पश्चिम गौणा डोटीमा रहेको र साविकको सुदूरपश्चिमाञ्जल विकास क्षेत्रको सदरमुकाम डोटीमै रहेकाले पनि प्रदेश नम्बर–७ को राजधानी दिपायल कायम हुनुपर्ने डोटेलीको माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस्