९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


 कांग्रेस हारेको छैन, हलुका टिप्पणी गर्नु बेकार


0
Shares

तपाईलाई वि.स. २०७० सालको चुनावमा नेपाली कांग्रेसले ल्याएको सिट र जम्मा मत कति हो जानकारीमा छ ? अनि अहिलेको चुनावमा नेपाली कांग्रेसले ल्याएको जम्मा मत कति हो थाहा छ ? यसरी हल्का गरीएको टिप्पणीले लाखौं नेपाली कांग्रेसलाई मत हाल्ने मतदाताको मतमाथि कस्तो प्रभाव पर्छ ? अनि उनीहरुको मत माथि हल्का गरीएको टिप्पणीले उनीहरुको अधिकारमाथिको उल्लंघन हुन्छ की हुदैन् ? कांग्रेसलाई रोक्नको लागि चुनावको मुखैमा दुईवटा ठुला पार्टी गाभिएर चुनावमा गएको चाहीं तपाईहरु देख्नु हुन्न ? अनि कांग्रेस पत्तासाफ भएको चाहीं देख्नु हुन्छ । तर, त्यसको कारण खोज्नु हुन्न । किन ? कांग्रेसले ल्याएको मत एक पटक हेर्नुहोस् । अनि सारा बामको घेराबन्दीमा देश भरका मतदाताले कांग्रेसप्रति व्यक्त गरेको मतलाई पनि हेर्नुहोस् ।

बामको तारबार छिचोल्दै बिजयी हासिल गर्ने कांग्रेसका योद्धाहरुलाई पनि तपाईहरु देख्नु हुन्न । अनि हौसला पनि दिनुहुन्न । कति खट्नु भयो होला अनि कति बाम चुनौतिको सामना गर्नु पर्‍यो होला ? यता तिर सोच्नु भएको छ ? तपाईले एमालेले अहिले ल्याएको सिट देखेर कांग्रेसलाई त्यसैसंग तुलना गर्नु भएको भए तपाईं त्यहीनेर गल्ती गरिरहनु भएको छ । कुनै एजेण्डै छैन एमालेसंग अनि कसरी यसरी मत ल्याउन सफल भयो केलाउनु हुन्न । उसले नेपालको लोकतन्त्र र मुलुकको लागि गरेको काम पनि तपाईलाई स्मरण गर्नुहोस् । कामको भरमा हैन भाषणको भरमा बाम गठबन्धनले मत ल्याएको हो भन्नेमा तपाई कति सहमत हुनुहुन्छ ? तपाईंले बीपी कोइरालाको नाम मात्र सुन्नु भएको छ देख्नु भएको छैन अनि उहाँको योगदान पनि अध्ययन गर्नु भएको छैन ।

त्यसैगरी गणेशमान सिंहको बारेमा पनि त्यहि सुन्नु मात्र भएको छ तर, मुलुकको लागि गरेको योगदानको बारेमा कहिले घोत्लनु भएको छ ? कृष्णप्रसाद भट्टराई जसले मुलुकको हितमा मात्र काम गरिरहे । तपाईले उहाँहरुको बारेमा घोत्लीएर नसुने पनि ‘महामानव’, ‘लौहपुरुष’, ‘सर्वमान्य नेता’ र ‘सन्तनेता’ त सुन्नु भएको छ । यत्रो मुलुकको लागि लगानी गरेका नेताहरु पनि यसै पार्टीमा छन् । तर उनीहरुले मुलुकलाई दिने बाहेक केहि लिएर गएनन् । उनीहरुको राष्ट्र निमार्णको बारेमा योगदान तपाईले खोतल्नुहोस् । राणा शासनको अन्त्य कसरी भयो ? त्यो त थाहै छ होला । पछिको कुरा गरौं जनयुद्धबाट माओवादीलाई कुन पार्टीले अनि कस्ले शान्ति प्रकृयामा ल्यायो ? गिरिजाप्रसाद कोइरालाजस्ता महापुरुषले अनि कांग्रेसले खेलेको भूमिकालाई हामी यति चाँडै विर्सने गर्दछौ ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याउनको लागि न कुनै महापुरुष जन्मियो, न अन्य पार्टीले नै त्यो हिम्मत गर्न सक्यो । माओवादीले मान्छे मार्दा, शिक्षकलाई रुखमा झुण्ड्याएर हत्या गर्दा, दाजुभाईको हत्या गर्दा, अनि हिड्ने, बोल्ने, बस्ने, अनि सम्पतीको अधिकार कुण्ठीत हुँदा र चरम अत्याचार हुँदा जनताको रुवाबासीलाई कुन पार्टीले सम्बोधन गर्‍यो ? तपाई हामी नै हैन त्यतिबेला रुवाबासी गर्ने ? त्यो क्षण सम्झनुस अनि नेपाली काँग्रेसले मुलक र जनताको लागि खेलेको भूमिकाको स्मरण गर्नुस् । त्यसो नगरेको भए हामी कहाँ हुने थियौ ? त्यो कहाली लाग्दो दिनको सम्झना गरे मात्र पुग्छ । त्यतिबेला माओवादीलाई शान्ति प्रकृयामा ल्याएर मुुलुक र जनतालाई बचाउने काम नेपाली कांग्रेसले गरेको हो की हैन ?

अनि हामी पार्टी भित्र सिट खोजेर बस्छौ अनि पार्टीले खेलेको भुमिकालाई प्रचारप्रसार नगरी ओझेलमा राखेर नेतृत्व र पार्टीको मात्र आलोचना गर्छौ । त्यस आलोचनामा आफ्नो भूमिका चाहि के कसैले खोज्दैनौ । आरोप लगाउन जति सजिलो छ चुनौति पार लगाउन त्यति नै गाह्रो छ । तर आफू र पार्टी हारेर गिरीजाप्रसाद कोइरालाले मुलुक र जनतालाई बचाए । तर त्यतिबेला पनि हामीले नेतृत्वलाई दोष थुर्पन छाडेनौ । आलोचना मात्र गरी रह्यौ । त्यतिबेला कांग्रसले खेलेको भूमिकाको खै हामीले जनतालाई बुझाउन सक्यौ । अन्य पार्टी कांग्रेसका एजेण्डा प्रचार गर्ने हामी गुटको आरोप प्रत्यारोपमा रमाउने । अहिले हामी स्वतन्त्र रुपमा बोल्न, हिंड्न र काम गर्न पाएका छां । त्यति चाडै नबिर्सनुस् । गिरीजाप्रसाद कोइराला पछि कति सरकारका टाउका फेरिए गन्नुस् । भन्नुस अनि कुन सरकार हुँदा जनताले के पाए । कति समय कुन पार्टीका प्रधानमन्त्री बने ? अनि के के भए ? औंला भाँच्दा हुन्छ ।

जनताको अभिभारा पुरा नगरी संविधानसभा विघठीत भए । अनि संविधासभाको पुनः चुनाव गरेर नेपाली जनताको चाहना बमोजिम कसले अनि कुन पार्टीले संविधान जारी गर्‍यो ? अन्य पार्टीले नसकेको अभिभारा सुशील कोइरालाले चुनौतिको सामना गर्दै संविधान जारी गरे । जारी भएको संविधान कार्यान्वयन गर्नको लागि कुन कुन सरकारका टाउका फेरीए ? ख्याल गर्नुस् । तर, कसैले केहि गरेन । कुनै पार्टीलाई समेट्न सकेनन् । बीचमा धेरै लफडा भए । अन्तत नेपाली कांग्रेसकै सरकार बन्यो र प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनको लागि मधेशवादी दललाई विश्वासमा लिएर चुनाव गरी छाड्ने र मुुलुकलाई निकास दिने संकल्प गरे । जुन आज पुरा भएको छ । लामो समयसम्म स्थानीय चुनाव भएको थिएन । त्यो पार लगाउनु कम चानचुने कुरा थिएन अनि प्रदेश र प्रतिनिधिसभाको चुनाव यति छोटो समयमा गर्नु पनि कम्ती चुनौति थिएन् ।

यसबीचमा मधेशवादी दललाई मिलाउने चटारो, प्रतिपक्षीलाई सहमतिमा ल्याउने चटारो पनि देखेकै हुनुपर्छ । सरकार, पार्टी संचालन, पार्टीका भातृ संगठनको चुनाव सम्पन्न गर्नेलगायतका काम र मुलुकलाई निकास दिने काममा पार्टी नेतृत्वको भूमिका महत्वपूर्ण छ । जुन भुमिका अन्य पार्टीसंग तुलना गर्ने मिल्दैन् । तर, चुनाव पछि पार्टी नेतृत्वमाथि एकलौटी आरोप थुपरीदै छ त्यो गलत छ । नेपाली कांग्रेसले हारेको छैन बरु जितेको छ । मुलुकले निकास पाएको छ भने जनताले लामो समयदेखि आफूले चुनेका जनप्रतिनिधि पाएकाछन् । के यसो गर्नु पार्टी र पार्टी नेतृत्वको गल्ती थियो । मुुलुकका लागि पार्टीले गरेको काम चाहीं तपाईहरु स्मरण नगर्ने । ‘हिड्दै छ पाईला मेट्दैछ’ को रोगले अगाडिको भाग मात्र देख्ने ग्रसीत मानसिकताको उपचार हामीले बेलैमा गर्नु पर्छ । अहिले नेतृत्वले खेलेको भूमिका पार्टी भन्दा माथि छ । चौतर्फी चुनौतिका सामना गरेर चुनाव भएको छ । यसको मूल्याङकन गर्नु भन्दा गुटको आडमा नेतृत्वको उछितो काडेर हामी अन्य पार्टीलाई माथि पुर्‍याउँदै छौ र बिपक्षी पार्टीका नेता तथा कार्यकर्तालाई सजिलो बनाउँदै छौ ।

अरु पार्टीका नेताहरुलाई नेपाली कांग्रेसको लागि बारेमा टिप्पणी गर्न सजिलो बनाई दिएका छौं । जसले गर्दा कांग्रेसको बिषयमा भ्रम छरेर जनताको मन जित्न उनीहरुलाई सजिलो भएको छ । त्यो काम हामीले नै गरी रहेका छौं । सार्वजनिक स्थलमा, चौतारी र चिया अखडाहरुमा अनावश्यक अभिव्यक्ति दिएर गफ चुटेर हामी पार्टीलाई बिगार्दै छौं । सार्वजनिक स्थलमा हामी पार्टीको नेता र गुटको उछितो काट्छौ । पार्टीका कुरा गर्ने पनि समय र स्थान हुन्छ होला हैन ? सार्वजनिक रुपमा अभिव्यक्ति दिने हो भने सानेपा पार्टी कार्यालय नै किन चाहियो र ? तपाईजस्तो कार्यकताले सकरात्मक रुपमा सोच्दा र सकात्मक कुरा गर्दा सुन्ने जो कोहिमा पार्टीको सकरात्मक ‘भाईब्रेसन’ हुन्छ । त्यो सकरात्मक भाईब्रेसनले एक अर्कामा जोडिदै जाने हो । तपाई जस्तो जिम्मेवार व्यक्तिको गलत र हल्का टिप्पणी जनमानसमा पुग्दा त्यसले नकरात्मक असर गर्छ भने पार्टीलाईसमेत बेफाईद गर्छ । यसमा गणितिय नियम लागु हुन्छ ।

तर, यसो भन्दैमा पार्टी भित्र समस्या छैन भन्ने हैन । पार्टी भित्र आन्तरिक समस्या धेरै छन् । ति समस्या सामधान गर्ने पनि बिधि र पद्धति छन् । सार्वजनिक रुपमा नभई पार्टीले आन्तरिक रुपमा समाधान गर्नु पर्दछ । पार्टीका राम्रा कामलाई प्रचार गर्ने र गल्ती भए पार्टी भित्रै छलफल गरी समस्या सामधान गरिनुपर्छ । सबैभन्दा पहिले नेपाली कांग्रेसले मत परिणाम सार्वजनिक भई सक्यो अब त्यसको पार्टी भित्र गम्भिर समिक्षा गर्नु आवश्यक छ । चुनाव अगाडी पार्टीले गरेका निर्णय र खेलेको भुमिकाको बारेमा त्यसै गरी अन्य पार्टीले निर्वाह गरेको सबैखाले भुमिकाको बारेमा पनि छलफल हुनु जरुरी छ । सहयोगी, असहयोगी भूमिका आदि । पार्टीले कहाँ गल्ती गर्‍यो र कहाँ राम्रो गर्‍यो । अनि कार्यकर्ताको उत्साह जगाउने काम के के गर्न सक्यो । बिपक्षी दलको बारेमा पार्टीले बनाएको धारणा कति प्रभावकारी बन्न सक्यो ? त्यस बिषयमा पनि खुलेरै छलफल हुनु जरुरी छ ।

पार्टी नेतृत्वले अबका दिनमा पार्टीले खेल्ने भुमिका निर्धारण गर्नुपर्दछ । भूमिकाका लागि युवा नेतृत्व र बैचारिक बहसमा खारिएको नेतृत्वलाई जिम्मेवारी दिनु पर्दछ । कांग्रेसका नेता कार्यकतालाई नेतासंग हैन जनतासम्म पुग्ने बातावरण बनाउनु पर्दछ । कांग्रेसको संगठन बिस्तारको लागि केन्द्र, क्षेत्र, जिल्ला, वडा, गाउँ तहसम्म बिस्तार गरी नेपाली कांग्रेसका कार्यकर्ता कति छन तथ्याङक अध्यावधिक गर्ने । संगठन बलियो बनाउने सदस्यहरुलाई कामको आधारमा उचित जिम्मेवारी दिने र लेबिलाई नियमित गर्ने । लेवी बुझाउने कार्यकता पार्टीभित्र बफदार हुन्छ र पार्टी प्रति उसको जिम्मेवारी पनि बढ्दै जान्छ र पार्टीमै उसको मत ग्यारेण्टी हुन्छ । सबैले पार्टीभित्र आकर्षण जगाई युवालाई पार्टी केन्द्रीत गर्नु पर्दछ । नेपाली कांग्रेसको आधिकारीक धारणा बाहिर ल्याउनको लागि पार्टी पद्धतिबाटै जानु पर्छ ।

गुट उपगुट, टाढा, नजिकको सम्बन्ध नभई पार्टीमा समान दृष्टिकोणले हेर्ने धारणाको बिकास गर्ने । कांग्रेस पार्टीको चरित्रको बारेमा घर-घर र व्यक्ति-व्यक्तिसम्म बिचार पुर्‍याउने । व्यक्तिको आचरण निर्माणको लागि र पार्टीमा नेतृत्व निमार्णको लागि बैचारिक बहसका कार्यक्रम गर्ने । सामान्यतया नेपाली कांग्रेसले आन्तरिक रुपमा यस्ता बिषयलाई केन्द्रमा राख्न सके पार्टीभित्र उत्साह र सबैको आकर्षण बढ्ने थियो । त्यसैले यी बिषयमा नेपाली कांग्रेसले खुल्ला रुपमा बिचारको बहससहितको छलफल गरी कमजोरी निक्र्योल गरी अगाडि बढ्नु पर्ने देखिन्छ । जसले पार्टीको बिगतको अवस्था, कति सफल कति असफल, सच्याउने पर्ने कुरा, राम्रा कुरा, वर्तमानमा पार्टीको अवस्था, खेलेको भूमिका र भविश्यमा लिने बाटो र भूमिका तय हुने छ । जसलाई कार्यान्वयन गर्दै अगाडि बढ्नु पर्ने हुन्छ ।