९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लोकतन्त्रमा अधिकार मात्र नखोजौं, नागरिकको जिम्मेवारी पनि सम्झौं


0
Shares

भलै यसको मतपरिणाम मंसिर २१ गते बाँकी जिल्लामामतदान सम्पन्न भएपछि एकसाथ आउनेछ । परिणाम जसको पक्षमा आओस्, निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि चयन गर्ने कुराले लोकतन्त्रको जित भएको छ । अन्ततः नेपाली कांग्रेसले राणा, पञ्च र राजासँग लड्दै कम्युनिष्टहरुलाई सँगसँगै लिएर तय गरेको शान्तिपूर्ण राजनीतिको मार्गले जितेको छ ।

तर, यो निर्वाचनमा लोकतान्त्रिक शक्तिको जित आवश्यक छ । संविधान कार्यान्वयनका लागि र जनताले चाहेको राजनीतिक स्थिरता र विकासका लागि पनि कांग्रेसलगायतका लोकतान्त्रिक शक्तिले जित्नुपर्छ । संधै र सबै मतदानबाट आउने परिणामले लोकतन्त्र जित्छ भन्ने हुँदैन । उदाहरणका लागि पञ्चायतमा भएको निर्दल कि बहुदल ? को निर्वाचनलाई लिन सकिन्छ । करिब करिब अहिलेको निर्वाचन पनि सामान्य अवस्थाको निर्वाचन भन्दा भिन्न छ, जनमत संग्रहजस्तै छ ।

कारण, एमाले र माओवादी केन्द्रको गठबनधनले निर्वाचनमा जाँदै गर्दा संविधान कार्यान्वयन भन्दा संविधानमा भएको मुलभूत विषय नै बदल्छौं भनेका छन् । यसको अर्थ कांग्रेसलाई दिने मत संविधानको कार्यान्वयनका पक्षमा हुनेछ । बाम गठबन्धलाई मत दिनु संविधान कार्यान्वयनमा जटिलता थपिने अनुमान पनि गरिएको छ । संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हटाएर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था ल्याउने कम्युनिष्ट गठबन्धनको घोषणामै प्रष्ट छ ।

यो अवस्थामा सूर्य वा हँसिया–हथौडामा हाल्ने मत संसदीय व्यवस्थाको विपक्षमा हुनेछ भन्ने त्रास पनि एकातिर फैलिएको छ । राजनीतिक अस्थिरता र कम्युनिष्ट अधिनायकवादको पक्षमा हुनेछ भनेर ब्यापक आरोप–प्रत्यारोपहरु पनि चलिरहेको छ । यसकारण मतदाताले मतदान गर्दैगर्दा अधिनायकवादको पक्षमा उभिने कि लोकतान्त्रिक व्यवस्थाका पक्षमा ? विवेक प्रयोग गर्न आवश्यक रहेको नेताहरुकै मुखबाट अब्हान समेत भइरहेको छ ।

वीपी कोइरालाले सात सालको क्रान्ति सम्पन्न भएपछि जनताका प्रतिनिधिले संविधान बनाउने सपना देखेका थिए । जुन गहन जिम्मेवारी गिरिजाप्रसाद कोइरालाले प्रारम्भ गरे, सुशील कोइरालाले पुरा गरे । बुलेटको बलमा सत्ता कब्जा गर्ने सपना बोकेर रोल्पातिर दौडिएका माओवादीलाई शान्तिपूर्ण राजनीतिमा र आधा प्रतिगमन सच्चियो भन्दै राजासँग लहसिन पुगेको, बयलगाढा चढेर अमेरिका पुगिन्न भन्दै खिसिट्युरी गर्दै बसेको एमालेलाई राजतन्त्र विरुद्धको आन्दोलनमा सामेल गराउन कांग्रेस सफल भयो ।

स्वतन्त्रता र लोकतन्त्र मान्ने शर्तमा कांग्रेसले सबै शक्तिलाई एकसाथ लिएर हिँडेको इतिहासले देखाएको छ । जुन दिन सात सालको क्रान्तिपछि प्राप्त स्वतन्त्रता र लोकतन्त्रको लिग ती शक्तिले छोडेका छन्, यद्यपि, कांग्रेसले अटल रहेर त्यसको रक्षामा उभिएको छ । राणा, राजा र पञ्चको अन्त्यको कारण नागरिकको स्वतन्त्रता र लोकतन्त्रप्रतिको वक्र दृष्टि थियो । अहिले त्यही बाटोमा यो देशका कम्युनिष्टहरु अग्रसर छन् भनेर भन्दा अतियुक्ती नहोला ।

संविधानको सौन्दर्यता समावेशीता, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता हो । आदीवासी, जनजातिले एकैछिन गम्भीर भएर सोचौं र अहिलेका ठूला दलको पहिलो र दोस्रो तहका नेताहरुलाई हेरौं । अधिकांस क्षत्री, ब्राह्मण छन् । के प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था आयो भने कम्युनिष्टहरुले केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र दोस्रो तहमा आउंदा इश्वर पोख्रेल, योगेश भट्टराई, जनार्दन शर्मालाई छोडेर पृथ्वीसुब्बा गुरुङ या सुरेश आलेमगरलाई उम्मेदवार बनाउलान् ? कदापी बनाउने वाला छैनन् ।

अहिले कांग्रेस वा लोकतान्त्रिक शक्तिले परिकल्पना गरेको व्यवस्था हुन्नथ्यो भने पहिलो राष्ट्रपति मधेसको छोरो रामवरण यादव र दोस्रो राष्ट्रपति एक जना महिला विद्यादेवी भण्डारी यो मुलुकको पहिलो पद राष्ट्रपति बन्ने थिएनन् । अहिलेकै व्यवस्था रहँदा अब बन्ने राष्ट्रपति अर्को कुनै आदीवासी, जनजाती,उपेक्षित, उत्पिडित समुदायबाट बन्न सक्ने प्रशस्त सम्भावना रहन्छ ।

तर, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाँदा समावेशीताको आधार भत्कनेछ,थप कमजोर बन्नेछ । यसतर्फ सम्पूर्ण आदीवासी,जनजाती,महिला,मधेसी,उत्पिडित,उपेक्षित, सिमान्तकमृत समुदायले नाराको तापमा नबहेर यथार्थको धरातल मनन गर्नुपर्छ । लामो समयको अस्थिरता अन्त्यका लागि करिब १० वर्ष लामो वैचारिक मन्थनपछि संविधान जारी भयो । पहिलो संविधानसभा उसै विफल भयो । यो तथ्य जान्दाजान्दै बल्ल बनेको संविधान कार्यान्वयन गर्दै समृद्धिको पथमा अघि जानु बुद्धिमत्तापुर्ण हुन्छ । तर, यो संविधानलाई भत्काउने सपनाका साथ कम्युनिष्ट गठबन्धन बनेको छ । यसले रुपमा राजनीतिक स्थिरताको नारा दिएपनि सारमा थप अस्थिरता दिने छ । अविकास र अस्तव्यस्तता दिने छ । त्यसकारण लोकतान्त्रिक शक्ति वा दलहरुलाई मत दिएर संविधान कार्यान्वयनका लागि मतदाताले ऐक्यवद्धता जनाउनु आवश्यक छ ।

इतिहास साक्षी छ, कांग्रेसकै नेतृत्वमा नेपालमा आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण संभव भएको हामीले देखे भोगेकै कुरा हो । ‘ब्यालेट होइन बुलेट’ भन्ने कम्युनिष्टलाई संसदमा ल्याएको छ, लोकतन्त्र स्विकार्ने बनाएको छ । दलित आयोग, महिला आयोग, मुस्लिम आयोग गठन, कमैया, हलियाप्रथाको अन्त्य, आदीवासी जनजातीको भाषा संरक्षणका लागि १४ भाषामा समाचार प्रकाशन प्रशारण गर्ने व्यवस्था, प्रतिष्ठान गठन कांग्रेसकै नेतृत्वमा भएको हो ।

संविधान ततकालिन कांग्रेस सभापति सुशील कोइराला र कार्यान्वयनका लागि सफलतापूर्वक निर्वाचन हालका सभापति शेरबहादुर देउवा नेतृत्वकै सरकारले गरिरहेको छ । गणतन्त्र आएपछि कम्युनिष्ट गठबन्धनका नेताहरु दाहाल, ओली,नेपाल, खनाल प्रधानमन्त्री भए । न संविधानजारी गर्न सके न संविधानमा रहेको असन्तुष्टि हल गर्न सके । गफ ठुलठुला भए, काम केही भएन । तर, कांग्रेसले हल्ला कम गरेपनि जनताले अनुभूतिगर्ने गरि परिवर्तनको आभाष दिलाइरहेको छ ।

सरकारमा रहँदापनि पछिल्ला सरकारमा रहेका कांग्रेसका मन्त्रीहरु गगन थापा, नवीन्द्रराज जोशी, रमेश लेखक, टेकहादुर गुरुङहरुले जनताको मन जितेका छन् । तर, कम्युनिष्टतर्फ हेर्दा मन्त्री भएर जागिर खाने भन्दा बढी केही गरे है देशका लागि भन्ने नाममानिसको स्मरणमा छैन । अरुलाई गाली गरेरै आफुलाई नायक स्थापित गर्ने गलत मनोविज्ञानमा एमाले सँधै रुमल्लियो । फास्टट्रयाक भारतलाई बुझायो कांग्रेसले भन्ने नारा लगाइयो । तर, कांग्रेसले स्वदेशी लगानीमै फास्टट्रयाक बनाउने निर्णय गर्यो ।

बुढीगण्डकी ठुलो कमिसनको चलखेलमा प्रचण्डले प्रधानमन्त्रीबाट बहिर्गमन हुँदै गर्दा चिनियाँ विवादास्पद कम्पनीलाई दिने निर्णय गरे । एमाले प्रचण्डको पक्षमा उभियो । कांग्रेसले विवादास्पद कालोसूचीमा परेको कम्पनीसँगको सम्झौता रद्ध गर्यो । ओलीले भारतलाई दिन खोजियो भन्ने प्रकारका कुप्रचार गरे । शेरबहादुर देउवाले स्वदेशी लगानीमै बनाउने निर्णय गरिदिए । कमिसनका लागि राष्ट्रिय हित विर्सेर अरुलाई यो र त्यो देशको दलाल भन्ने ओली प्रवृत्ती फास्टट्रयाक र बुढीगण्डकमिा नांगिएको छ । कांग्रेस र एमालेमा को राष्ट्रवादी जनताले बुझिसकेका छन् । विगतमा सगरमाथा चीनले आफ्नो दाबा गर्दा कम्युनिष्टहरु मौन बसे । तर, बीपी कोइरालाले त्यसको प्रतिवाद मात्र गरेनन्,सगरमाथा नेपालकै भएको पुष्टि गरेपछि चीन वीपीको अडान सामु झुक्न बाध्य भयो ।

मेडिकल माफियाका विरुद्ध डा गोविन्द केसी उभिए । तर, माफियाको पक्षमा केपी ओलीसहित उनको पार्टी उभियो । केसीले राखेका माग कांग्रेसले सम्बोधन गर्यो । यस्ता सयौं तथ्यका फहरिस्तहरु छन् । को जनताको पक्षमा ? को माफियाको पक्षमा ? यी तथ्यले पुष्टि गरिसकेको छ । स्वास्थ्य विमा, मृगौला प्रत्यारोपण र डाइलोसिस निशुल्क, स्वदेशमै कलेजो प्रत्यारोपणसहित देशको स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने नीतिगत परिवर्तन गगन थापाको नेतृत्वमा भएको छ । जनताले प्रत्यक्ष यी कुरा अनुभूत गरिरहेका छन् ।

आजको आवश्यकक्ता समृद्धि र विकासमा नै छ । माओवादीले १२ वर्ष बन्दुक पट्काएर कांग्रेसले सुरु गरेको समृद्धिको यात्रामा अवरोध सिर्जना नगरेको भए अहिले विदेशीनेको यो आँकडा निक्कै कम हुने थियो । युवाहरुले यो तथ्यलाई हृदयदेखि नै मनन गर्न जरुरी छ । सपनाको व्यापार गरेर लाखौं युवाको भविष्य बर्बाद पार्ने र आफ्नो स्वार्थको रोटी सेक्ने कम्युनिष्ट नेताको प्रवृत्ती उजागर भइसकेको छ । त्यसलाई थप नंग्याउँदै कांग्रेसलाई मतदिएर बलियो बनाउँदा मात्रै युवाहरुको भविष्य स्वदेशमै सुरक्षित हुने छ । कांग्रेसले आफ्नो घोषणापत्रमा पनि युवाहरुका लागि थुपै्र विषयको सुनिश्चितता गरेको छ । कांग्रेस जे बोल्छ त्यो गर्छ भन्ने तथ्य जगजाहेर छ । त्यकारण युवाहरुले यसपटक दलीय घेरा तोडेर स्वदेशमै बस्न सक्ने अवस्थाका लागि कांग्रेसलगायतका शक्तिलाई मतदान गर्न आवश्यक छ ।

समाजका हरेक तह र तप्काले देशमा समृद्धि खाजेका छन् । आर्थीक विकास र राजनीतिक अन्योलताबाट निकास खोजेका छन् । देशलाई विकास र राजनीतिक निकासका लागि कांग्रेसको अब बन्ने प्रदेश र प्रतिनिधिसभा संसदमा बलियो हैसियत आवश्यक छ । त्यसका लागि सबैले कांग्रेसलाई मत दिनुपर्छ । होइन भने कम्युनिष्ट गठबन्धन बलियो बन्दा लोकतन्त्र धरापमा पर्नेछ । समृद्धि र विकासका आशाहरु निराशामा बदलिनेछन् । देशमा अभिव्यक्ति स्वतन्त्रता खोसिनेछ,सम्पत्तीमाथी व्यक्तिको अधिकार खोसिन सक्छ । व्यक्तिगत स्वतन्त्रतासहित सम्पत्तीमाथीको हकसहितको लोकतान्त्रिक राजनीतिक व्यवस्था रोज्ने कि कम्युनिष्ट निरंकेशताको बाटो रोज्ने ? त्यो अवसर संघारमा छ, यसमा मतदाताको विचार ।( लेखकः नेवि संघका नेता हुन )