२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

पत्नीपीडित भएको भन्दै उजुरी


0
Shares

पर्वत, असार १५ । श्रीमान्ले अन्याय गरेको भन्दै श्रीमतीले उजुरी दिने गरेको कुरा त नौलो होइन । तर, पर्वतमा भने पहिलोपटक पत्नीपीडित भएको भन्दै दुईओटा उजुरी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतकी महिला तथा बालबालिका सेवा केन्द्र इन्चार्ज रचना थापाकाअनुसार महिला सेलमा दुईजना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै न्यायका लागि उजुरी दिएका छन् ।

न्यायका लागि उजुरी दिनेमा जलजला गाउँपालिका–२, धाइरिङका एक पुरुष र कुश्मा नगरपालिका–१, पाङका अर्का पुरुष छन् ।

उनीहरु दुवैजनाले श्रीमतीले छोराछोरी पालनपोषणमा ध्यान नदिएको र घरभन्दा बाहिर बढी समय दिने गरेको भन्दै न्यायका लागि उजुरी दिएका हुन् ।

उजुरीउपर जिल्ला प्रहरी कार्यालय पर्वतले पाँङका पीडित पुरुषका श्रीमान्–श्रीमती दुवैजनालाई कार्यालयमा बोलाएर मिलापत्र गराएको छ भने जलजलाका पत्नीपीडित व्यक्तिको मुद्दा अझै कानुनी प्रक्रियामा छ ।

यस्तै, सेवा केन्द्रमा आव २०७४/७५ मा जेठ महिनासम्म ५९ ओटा घरेलु हिंसासम्बद्ध उजुरी दर्ता भएका छन् ।

उक्त उजुरीमध्ये प्रहरी आफैंले ४१ ओटा उजुरी मिलापत्र गराएको छ भने सातओटा उजुरीमा मिलापत्र गराउन नसकेपछि अदालतमा पठाएको छ ।

त्यसैगरी, ८ ओटा उजुरी कानुनी प्रक्रियामा छन् भने तीनओटा उजुरी दिएका व्यक्ति सम्पर्कमा नआएको महिला तथा बालबालिका सेवा केन्द्र इन्चार्ज थापाले बताइन् । रासस