१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


धनगढीमा कवि विवशको एकल वाचन, कविता सुन्नलाई एकसय रुपैंयाँ


0
Shares

सय रुपैयाँको टिकट काटेर कविता सुन्न आएका दर्शकलाई शनिबार उनले दुई दर्जन कविता सुनाएर सन्तुष्ट बनाए ।

रुबस होटलमा आयोजित एकल कविता वाचनमा विवशले सिमान्तकृत समुदायको आवाज मुखरित गरे । उनका गीत, गजल र कवितामा आञ्चलिक स्वाद पाइन्छ ।

उनले भगवानको खोजी हली, बा दमाहा र ढोलक, देशको खोजी, कतारको रैबार, भुकम्प र राहत, कौशी र बाबा, मौनता जस्ता मर्मस्पर्शी कविता सुनाए । छन्द र डेउडाका केही गित पनि गाए ।

कार्यक्रम आयोजना रचना वाचन समूह, रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चले आयोजना गरेका हुन् । सहयोगीमा रैका ट्राभल्स र रुबस होटल थिए ।

कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका केही गीत गाएको थियो । समूहमा संगीतकारहरु बसञ्त साधक, देवराज गिरी, शिशिर रानाभाट थिए ।

कार्यक्रममा साहित्यकारहरु टोपेन्द्र शाह, पदमराज जोशी, अभि अजनवी र जनक रसिकले विवशका कविता उत्कृष्ट रहेको टिप्पणी गरेका थिए ।

साँस्कृतिक अध्येता समेत रहेका ‘विवशका स्रमाई, असौजको जून र यादै जनमभरि’ गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासँग्रह तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् ।

रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए । उनका पाँच दर्जन गीत रेर्कड भैसकेका छन् भने डेउडा गीत समेत गाएका छन् ।

यस अघि गएको घटस्थापनाका दिन अलिमियाँ लोक वाङमय प्रतिष्ठानले पोखरामा उनको एकल कविता वाचन आयोजना गरेको थियो ।