
चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि लाखौंले राजश्व तिरेका छन् ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिनका लागि मोटरसाइकललाई रू ७००, कार जिपलाई रू एक हजार र ठूला सवारीका लागि रू दुई हजार शुल्क तोकिएको वाग्मती सवारी चालक अनुमति पत्रको कार्यालयका प्रमुख तेजनारायण यादव राससलाई बताउँछन् ।
‘लाखौंले राजश्व तिरेर ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिन प्रतीक्षा गरेपनि दुई लाख ३० हजारमात्र छापिएर आएको छ, मागअनुसार कार्ड नछापिँदा सेवाग्राही प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यता छ, अहिलेसम्म दुई लाख ३० हजारलाई वितरण गरेका छौं, माग गर्ने एक लाख सेवाग्राही अझै प्रतीक्षा सूचीमा छन्, विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ उपलब्ध गराउन सकेको छैन’–उनी भन्छन् ।
‘स्मार्ट कार्ड’ छपाइको काम विभागको केन्द्रीय कार्यालय मीनभवनमा भइरहेको छ । तीनओटा उपकरणबाट कार्ड छाप्ने काम भइरहे पनि मागबमोजिमको आपूर्ति हुननसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराई ‘स्मार्ट कार्ड’ नेपालका लागि नयाँ प्रविधि भएकाले मागअनुसार छापेर वितरण गर्न नसकिएको स्वीर्काछन् ।
विभागले विसं २०७२ मसिर २० गतेदेखि ‘स्मार्ट कार्ड’ को दरखास्त लिन सुरु गरेर पुस ३ गतेदेखि वितरण गर्न थालेको थियो ।
भारतको ‘मद्रास सेक्युरिटी प्रिन्टर्स’ कम्पनीले रू १५ करोडको लागतमा ‘स्मार्ट कार्ड’ छाप्ने तीन ओटा ‘लेजर इन्ग्रेडिङ मेसिन’, हार्डवेयर सामग्री र एक लाख ६० हजार थान ‘स्मार्ट कार्ड’ छाप्ने कागज ल्याएको थियो ।
हाल यातायातको १३ ओटा अञ्चल कार्यालयबाट ‘स्मार्ट कार्ड’ वितरण सुरु भइरहेको छ । कर्णालीमा भने नेपाल टेलिकमले ‘स्मार्ट कार्ड’ वितरण गर्न सक्ने क्षमताको इन्टरनेट सेवा उपलब्ध नगराएकाले ढिला भएको विभागका प्रवक्ता डा.टोकराज पाण्डेले राससलाई जानकारी दिए ।
पाँच वर्षभित्रमा हस्तलिखितलगायत अन्य प्रकृतिका चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तन गर्ने विभागको योजना छ । मागअनुसारको आपूर्ति हुन नसकेकाले पाँच वर्षमा ‘स्मार्ट कार्ड’ वितरण सक्न मुस्किल देखिएको छ । पाँच वर्षमध्ये दुई वर्ष सकिन लागेको छ । बाँकी तीन वर्षमा नवीकरण र नयाँ आउने सबैलाई ‘स्मार्ट कार्ड’ वितरण गर्नु विभागका लागि चुनौती छ ।
‘स्मार्ट कार्ड’ लिन दुई महिनादेखि सबै प्रक्रिया पूरा गरेपनि एकान्तकुनास्थित वाग्मती अञ्चल यातायात कार्यालयले विभागबाट छापिएर आएको छैन भन्दै नदिएको सेवाग्राही नारायण गुरुङ बताउँछन् । ‘पटक/पटक सम्पर्क गर्नु भन्छन्, जहिले सम्पर्क गरेपनि ‘स्मार्ट कार्ड’ छापिएर आएको छैन भन्ने जवाफ पाइन्छ’–उनी भन्छन् ।
‘स्मार्ट कार्ड’ वितरण गर्ने वाग्मती कार्यालयका प्रमुख यादव सेवाग्राही धेरै, सेवा प्रदायक थोरै र छापिएर आउनुपर्ने कार्डकै लागि महिनौ कुर्नुपर्ने भएकाले तोकिएको अवधिमा कामसम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताउँछन् ।
विभागले यसवर्ष पनि ‘स्मार्ट कार्ड’ छाप्न बोलपत्र आह्वान गरेकामा ‘मद्रास सेक्युरिटी प्रिन्टर्स’ले नौ लाख ६४ हजार अमेरिकी डलरमा छाप्ने जिम्मेवारी पाएको छ । यस पटक सात लाख ५० हजार ‘स्मार्ट कार्ड’ छापिने प्रवक्ता पाण्डे उल्लेख गर्छन् ।
अहिले नयाँ निवेदन दिने, प्रतिलिपि लिने र नवीकरण गर्ने सबैलाई ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्रमात्र दिइएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्