८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सबैभन्दा ठूलो ‘स्पेस स्टेशन’ नियन्त्रणबाहिर, पृथ्वीमा ठोक्किने अनुमान


0
Shares

गतवर्षको सेप्टेम्बर महिनादेखि नियन्त्रणबाहिर पुगेको ८.५ टनको ‘स्पेस स्टेशन तियानगोंग–१’ आगामी वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पृथ्वीमा आएर ठोक्किने ‘युरोपियन स्पेस एजेन्सी’ (इएसए)का वैज्ञानिकहरुले अनुमान गरेका हुन् ।

इएसएका वैज्ञानिकहरुले हराइरहेको उक्त ‘स्पेस स्टेशन’ पृथ्वीको गुरुत्वाकर्षणभित्र प्रवेश गरेपछि आगोको ज्वालासहित स्पेन, इटली, टर्की, ब्राजिल, चीन, भारत र अमेरिकाका भु–भागमा ठोक्किन सक्ने बताएका छन् ।

वैज्ञानिकहरुले अहिलेदेखि नै सबै वैज्ञानिकहरुलाई उक्त ‘स्पेस स्टेशन’ पृथ्वीमा फर्कने समयको निरीक्षण गर्न चेतावनी दिएका छन् ।

डेलिमेल अनलाइन‘का अनुसार चीनले सन् २०१२ सेप्टेम्बर २९ मा सबैभन्दा ठूलो मानिएको चीनको पहिलो ‘स्पेस स्टेशन तियानगोंग–१’ चीनको ‘अर्थ स्टेशन’बाट प्रक्षेपण गरेको थियो । तर, सन् २०१६ को सेप्टेम्बर महिनादेखि उक्त स्टेशन पृथ्वीबाट ३०० किलोमिटरमाथी अन्तरिक्षको कक्षमा नियन्त्रणबाहिर गएर हराएको चिनियाँ वैज्ञानिकहरुले पुष्टि गरेका थिए ।

‘युरोपियन स्पेस एजेन्सी’का प्रमुख होल्गेर क्रगले उक्त ‘स्पेस स्टेशन’ हराएको कक्षबाट पृथ्वीतिर फर्किदा उत्तरी ध्रुब ४३ डिग्री वा दक्षिण ध्रुब ४३ डिग्री कोणमा ठोक्किने अनुमान गरेको बताए । उनले उक्त ‘स्टेशन’ पृथ्वीमा फर्किने निश्चित रहेको तर त्यसको समय चैं अध्ययनका आधारमा अनुमान गरेको बताए ।

इएसएका वैज्ञानिकहरुले आगामी वर्षको फेब्रुअरी महिनामा खगोलविदहरुसंग ‘तियानगोंग–१’ले पृथ्वीमा पुन प्रवेश गर्ने र त्यसलाई कसरी निरीक्षण गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय गोष्ठि गर्ने उल्लेख गरेको छ । एजेन्सी