८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


वाम गठबन्धनको अर्को एङ्गल : नेता सेटल हुने मानसिकता


0
Shares

आगामी चुनावमा वाम गठबन्धनले सुविधाजनक बहुमत ल्याएका खण्डमा ओली भावी प्रधानमन्त्री, प्रचण्ड राष्ट्रपति र वामदेवका हातमा पार्टी हाइकमाण्ड जाने सुनिश्चित देखिन्छ । यस्तो राजनीतिक यात्रा तयका लागि ओली–वामदेव–प्रचण्ड सहकार्यलाई आँकेजस्तो सजिलो चाहिँ छैन । माधव–झलनाथ–नेम्वाङ पक्षको पनि ध्रूवीकरण हुने देखिन्छ ।

प्रचण्ड आउँदो तेस्रो राष्ट्रपति भूमिकामा आफूलाई सोच्न थालिसके । पावरको सेन्टरमा बस्ने प्रकल्पनाका पछि प्रचण्डका विविध बाध्यता पनि नभएका होइनन् । स्थानीय चुनावमा देउवासँग बार्गेनिङ गरी छोरी रेनु दहाललाई भरतपुर मेयर बनाउनु, सत्तामै रहँदा आफ्नो राजनीतिक सेफ ल्याण्डिङ्का लागि ‘माओवादी आन्दोलन’को म्याण्डेटलाई एकाएक लात हानेर पार्टी भत्काउँदै एमालेको पुच्छर बन्नुपछि २ नम्बरमा माओवादीले पाएको मतलाई आँकियो । आफू एक्लै चुनावमा गएका खण्डमा नतिजा तेस्रो हुने भन्ने लाग्यो । यसो हुँदा माओवादीलाई कांगे्रस–एमालेले सरकार निर्माण गर्न समझदारी गर्लान् अनि आफूलाई पाखा लगाउलान् भन्ने भय समेत निर्माण भयो ।

अहिले एमाले र माओवादीको चुनावी मिलन जति सहज चित्रण गरिँदैछ व्यवहारतः त्यो पेचिलो र सकसपूर्ण छ । टिकट वितरणमा एमालेले माओवादी र अन्य खुजुरे दललाई चित्त बुझाउन सकेन भने ‘भागता भूतका लगौंटा ही सही’ भनेर आफ्ना साख जोगाउन र थ्रेस होल्डबाट बच्न पनि साना दल कांग्रेससँ्ग चुनावी तालमेलमा आउने छन्, जसले वाम गठबन्धनको चुनावी सपनामा तुषारापात हुन्छ । त्यो हुन नदिनैका लागि दुवै दलले इमान्दार र लोकप्रिय उम्मेदवार दिनुपर्छ । अहिलेको नापनक्सा आधारमा एमालेले दिएका केही उम्मेदवारलाई लिएर चर्को असन्तुष्टि चुलिएको छ । एकजना एमालेका कार्यकर्ताले भने, ‘पार्टीमा कुबेरहरूको प्रवेशपछि अब एमालेमा सुदामाहरूले विद्रोह गर्ने स्थिति आयो ।’

यही हालत कांग्रेसमा देखियो । कांग्रेस त्यसै त वाम गठबन्धनले तिल्मिलाएको स्थितिमा छ । अझ चुनावी रणनीति जित्ने गरी नगर्ने हो भने तेस्रो शक्तिका रूपमा उदाएका राजपा, समाजवादी फोरम र विवेकशील साझाजस्ता पार्टीमा राम्रो मत संख्या देखिन्छ । खासगरी विवेकशील साझाले सहरी युवा वर्गलाई लोभ्याएको छ । अझ त्यो वर्ग डेमोक्र्याट भएको हुँदा कांग्रेसकै भोट काट्ने निश्चितप्रायः छ । अहिले कांग्रेसको हविगत ‘ओरालो लागेको मृगलाई बाछाले समेत लखेट्छ’ भन्ने देखियो । उसले लोकतान्त्रिक फोरम नेता विजय गच्छदारलाई आफूमा एकीकरण गराए पनि मोरङ र सुनसरीमा मात्रै त्यसको फाइदा लिन सक्ने देखिन्छ । अझ ती क्षेत्रमा समाजवादी फोरम र राजपासँग चुनावी तालमेलको ठूलो रस्साकस्सी नभएमा कांग्रेस दोस्रो नम्बर मै देखिन्छ ।

मध्य तराईमा भने एमाले कमजोर बनेको २ नम्बर प्रदेश स्थानीय चुनावको नतिजाबाट देखियो । त्यहाँ वाम गठबन्धनपछि एमाले माओवादीको पल्ला भारी हुँदैछ । राप्रपाको कुनै निश्चित चुनावी पकड क्षेत्र छैन । अब कांग्रेसले बचेखुुचेका पार्टीलाई मिलाएर ‘डेमोक्रेसी एलायन्स’ बनाई वामहरूको समाजवादी हौवालाई जति सक्यो भाषणबाट खुइल्याउनु पर्ने स्थिति बाँकी छ ।

केपी ओलीजस्तो तीखो र चुनावी भाषण गर्ने नेता कांग्रेसमा छैनन् । पाका नेताहरू सबै आफ्नै चुनावी क्षेत्रमा वाम गठबन्धनको पेचिलो घेराबन्दीमा परिसके । कृष्ण सिटौलालाई समानुपातिकमा थन्क्याइयो । नुवाकोटमा रामशरण र अर्जुननरसिँह केसी कमजोर आँकिदैछन् । नवलपरासीमा कांग्रेस केही सुध्रिएको थियो, त्यहाँ पनि छँदाखाँदाको भारतीय राजदूतको पद छाडेर दीपकुमार उपाध्याय सानका साथ ओर्लिएपछि कांग्रेस नराम्रोसँग भड्खालामा जाकिने डर स्थानीय कार्यकर्ताहरू व्यक्त गर्न थालेका छन् ।

डा.बाबुराम गोरखामा कमजोर सावित हुँदै जाँदा छन् । वाम गठबन्धनपछि हेभिवेट मानिने नारायणकाजीसँग चुनावी प्रतिस्पर्धामा जानु पर्ने देखिएपछि कांग्रेससँग चुनावी तालमेलमा आउँदै गर्दा कांग्रेसका पुराना नेताले सो क्षेत्रमा कम्प्रोमाइज गर्न नसक्ने बताएपछि बाबुराम विलखबन्धनमा परे । तराईमा तराई केन्द्रित दलको समर्थन जसले लिन सक्छ उसैले सुविधाजनक बहुमत ल्याउने विश्लेषण गरिँदै छ । तिहार सकिएको यो अवस्थामा चुनावी प्रक्रियाले गति लिदैंछ, पार्टीहरूमा देखिएको ध्रूवीकरणले बाटो घनिभूत रूपमा बाटो पक्रिएको छ ।

प्रम देउवाका लागि यसपटक आफ्नै गृहजिल्ला डडेल्धुरा अनुकूल छैन भनिँदैछ । स्थानीय कांग्रेसीको कचिङ्गल नमिलिरहेको अवस्थामा देउवा पत्नी आरजु देउवासमेत कञ्चनपुरतिर झर्ने पक्कापक्की भएको छ । प्रम देउवाका लागि यो चुनाव उनको सभापतित्वको मूल्याङ्कन गर्ने कसी भएको छ । पुराना र इमान्दार कांग्रेसी कार्यकर्ताहरू नेपाली कांग्रेसको लगाम कोइराला इतर व्यक्तित्वमा जाँदा पार्टी झन् भताभुङ्ग हुने भयले भयाक्रान्त छन् । महामन्त्री डा.शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला बीचमा अलिअघि नै एकताको स्वर गुञ्जन भएको परिदृश्यले अबको महाधिवेशनमा सभापति देउवा फालिने सम्भावना पनि प्रबल नै देखिन्छ ।

वाम गठबन्धनले चुनावपछि सरकार निर्माण ग¥यो र कांग्रेसको नतिजा अपेक्षित आउने सकेन भने देउवालाई पार्टी सभापतिबाट हटाउने खेल शुरू हुन्छ । त्यसका लागि कांग्रेस महासमितिको बैठक बोलाउने र कांग्रेस स्वयम्मा दुई पोलमा पोलराइजेसन हुने आंकलन कोइराला पक्षका मानिसहरू गर्दछन् ।

यसरी हेरेका खण्डमा अबको चुनावी माहौलमा कांग्रेसले आफ्नो मेचीकालीको देशीयसंगठन चुस्त बनाई समाजवाद तर्फको कम्युनिष्टहरूको यात्रालाई अवरोध हुने चुनावी एजेण्डा तय पर्नुपर्ने देखिन्छ । रह्यो कमल थापा एण्ड कम्पनीका कुरा– धर्मको कुरालाई उछालेर केही लाख मत थापाले कांग्रेसका पक्षमा ल्याउन सक्छन् । त्यसो भएमा फेरि हिन्दू धर्म र हिन्दू राष्ट्र निर्माणका बहसले मुलुकमा स्थान पाउने पक्कापक्की देखिन्छ ।

नेपालमा विचारको राजनीतिको स्खलन भएकै हो ? प्रश्न यहाँनेर पनि उठ्न सक्छ । कांग्रेस र वामहरूका विरुद्धमा देखिएको सफ्ट डेमोक्रेसीको आवाजलाई युवाहरूका माध्यमबाट जतिसक्दो चाँडो देशव्यापी बनाउन सकेमा ढिलोचाँडो मध्यधार नेपाली राजनीतिमा स्थापित हुन सक्छ । अहिलेका पुराना मानिएका शक्तिहरू कांग्रेस, एमाले, माओवादी, राजपा, राप्रपा र नयाँशक्तिका पछि मानिसहरू करबलले मात्र लागेका हुन् । आफ्नो मनलाई जित्न सक्ने पार्टीहरू निर्माण नभैसकेकाले ठूलो संख्यामा रहेका प्रगतिशील र डेमोक्र्याट युवाहरू त्यसै अल्मलिरहेका छन् । यहाँनेर विवेकशील साझाका उम्मेदवारहरू फेसबुके भित्तामा लाइभ चुनावी अभियानमा मात्र सिमित नभएर राष्ट्रिय अन्तर्राष्ट्रिय चुनावी एजेण्डा तय गरी आक्रमक रूपले मैदानमै ओर्लनु पर्ने देखियो । यदी त्यसो भएमा अहिलेका पच्चीसदेखि पैँतीस वर्षसम्मका युवाहरूले आफ्नो जीवनकालमै नेपाल र आफ्नो समेत कायापलट भएको देख्न पाउने छन् ।

अबको चुनावमा ‘भ्रष्ट हैन प्रष्ट नेता’ चुन्ने अभियान शुरू गर्न सकियो भने पुरानो संसदवादी शक्ति र नामका मात्र वामहरूलाई दह्रो धक्का पुग्नेछ किनकि तिनीहरूले आफ्ना चुनावी उम्मेदवारमा डन र धनवादी मानिसहरूलाई प्राथमिकता दिएर टिकट वितरण गरिसके । विचार र दल अदलबदल गरेरै पनि अबको नेपाली राजनीति दुई कित्तामा उभिनु जरुरी भैसक्यो । एउटा ‘सेन्टर राइट’ जसको नेतृत्व कांग्रेसले गर्दछ । अर्को ‘सेन्टर लेफ्ट’ जसको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ । त्यसो भएमा थ्रेस होल्डले साना खुजुरे पार्टीहरूलाई बढारिदिन्छ अनि नेपाली राजनीति ‘टु पार्टी सिष्टम’ मा जान्छ । सोही बेला जनताले हरेक चुनावमा एउटालाई रोज्नु पर्ने बाध्यताको स्थिति सिर्जना हुनेछ । अबको विकल्प यही मात्र बाँकी छ । आगे वालिग जनताकै मर्जी ।