
बीबीसी हिन्दीले बिहारको नबदा जिल्लाको गाजीपुर पुगेर यस अन्धविश्वासबारे समाचार लेखेको छ ।
बीबीसीकाअनुसार कसैले शौचालय बनाएमा घरको जेठो छोरो मर्ने अन्धविश्वासका कारण उनीहरु खुला स्थानमा दिसा–पिसाब गर्न बाध्य भएका हुन् ।
गाजीपुर गाउँका शिक्षक सतीश कुमारकाअनुसार सन् १९८४ मा पहिलोपटक सिद्धेशवर सिंहले शौचालय बनाइरहेको समयमा उनका जेठो छोरा पप्पुको अचानक मृत्यु भयो ।
त्यसपछि श्यामदेव सिंहले शौचालय बनाउन सुरु गरे त्यस समयमै उनका जेठो छोरा राम प्रवेश मरे ।
यस्तै घटना फेरि सन् २००९ मा घटेपछि स्थानीय वासिन्दामा एक किसिमको डर उत्पन्न भयो । यस तीनओटै घटनालाई अन्धविश्वाससँग जोडेर घरमा शौचालय बनाए जेठो छोरो मर्ने हल्ला फिँजियो ।
सतीश कुमारले भने–‘यस घटनाकै कारण यहाँका कुनैपनि घरमा शौचालय नबनेको र अहिले यही घटना बिहारभरि फैलिएको छ ।’
अन्धविश्वासको सुरुआत भएको यस गाउँमा करिब २ हजार स्थानीय वासिन्दा बसोबास गर्छन् ।
यस गाउँमा प्रायः सबैको पक्की घरभित्र टीभी, फ्रिज, इन्भर्टर, नुहाउने बाथरुममा गीजरसमेत रहेको छ तर दिसा–पिसाब गर्ने शौचालय भने कसैको छैन । सबै खुला स्थानमा नै जान्छन् ।
स्थानीय बासिन्दा जयादेवीको दुईओटा पक्की घर छन् । उनी र उनका परिवार घरभित्रै बनाएको बाथरुममा नुहाउँछन् तर दिसा–पिसाब गर्न भने बारीमा जान्छन् ।
जयादेवीले यस विषयमा उल्टै प्रतिप्रश्न गदै भनिन्–‘शौचालय बनाए त छोरो मर्छ अनि को आउँछ हाम्रो सहारा बन्न ? छोरा–बुहारी कै लागि दुईओटा घर बनाएका हौं । अब शौचालय बनाएर त्यहिँ छोरालाई मार्नु ?’
वडासदस्य रामजतन सिंहले सरकारबाट सित्तैमा सबैलाई शौचालय बनाइदिने बजेट आएको बताए । उनले भने–‘मैले एकपल्ट कोसिस गर्न खोजे तर घरमै श्रीमती जनानाले सबैलाई शौचालय बनाउने योजनामा लागे विष खाएर मर्ने धम्की दिएपछि अगाडि बढ्न सकिनँ ।’
त्यसो त गाउँकै सरकारी स्कुलमा सन् २००७ मै सरकारले पक्की शौचालयको निर्माण गरिदिएको थियो । तर, त्यस शौचालयको शिक्षक र विद्यार्थी कसैले पनि प्रयोग नगरेपछि अहिले बन्द अवस्थामा छ ।
गाउँमा अनपढ मानिसमात्र होइन, पढे–लेखेका, सरकारी सेवामा कार्यरत् कर्मचारी पनि छन् ।
पटना कृषि मन्त्रालयमा कार्यरत् कर्मचारी प्रियंका ६ महिनाको गर्भवती भएपछि गाजीपुर आइन् तर शौचालय नहुँदा समस्या भएको बताउँछिन् । उनले यस गाउँमा विवाह गरेर पछुतो लागेको बताइन् ।
स्थानीय विकास अधिकारी राधारमण मुरारी सबैलाई शौचालय बनाउन सरकारले अनुदान दिएपनि अन्धविश्वासका कारण शौचालय बनाउने योजना सफल नभएको बताउँछन् ।
स्थानीय वासिन्दा मन्जु देविका अनुसार शौचालय नबनाएकै कारण टाढाबाट आफन्तहरु आउन छोडेको बताउँछिन् । उनले भनिन् –‘यहाँका केटाहरुलाई टाढाबाट केटि दिन मान्दैनन् ।’
अझ धेरै रोचक प्रसंग हेर्नुहोस्…
प्रतिक्रिया दिनुहोस्